दीपकराजले किन भने आफूलाई ‘दही चिउरे’?
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ठ्याक्कै एक महिना बाँकी छँदा राजनीतिक माहोल तातिएको छ । यसै बीच चर्चित कलाकार तथा निर्माता दीपकराज गिरीले निर्वाचनको समयमा हुने समर्थकहरूको वर्गीकरणलाई लिएर सामाजिक सञ्जालमार्फत तिखो व्यङ्ग्य प्रहार गरेका छन् ।
कलाकार गिरीले आफूलाई ‘दही चिउरे’ श्रेणीको समर्थकका रूपमा चिनाउँदै चुनावी प्रवृत्तिमाथि टिप्पणी गरेका हुन् ।
निर्वाचनका बेला चर्चामा आउने शब्दावलीहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै गिरीले लेखेका छन्, “चुनावमा ‘मासु भात’ र ‘दही चिउरे’ भन्ने शब्द एकदमै हिट रहेछन् । एउटै दल वा व्यक्तिको पछि अन्धभक्त भएर लाग्नेहरू ‘मासु भात’ हुन् भने समय र परिस्थिति अनुसार विचार बदल्नेहरूलाई ‘दही चिउरे’ भनिँदो रहेछ ।”
उनले कुनै एउटै दल वा व्यक्तिको सधैँ भजन गाउनु भन्दा एजेन्डा र आवश्यकताका आधारमा फरक-फरक समयमा फरक-फरक शक्तिलाई समर्थन गर्नु नै उपयुक्त हुने तर्क अघि सारेका छन् ।
गिरीले आफू कुनै एउटा राजनीतिक दलको स्थायी ‘झोले’ नबन्ने प्रस्ट संकेत गरेका छन् । उनले लेखेका छन्, “एउटैको भजन गाउनुको सट्टा मुद्दा अनुसार, अवस्था अनुसार फरक फरक समयमा फरक फरक व्यक्ति र दललाई समर्थन गर्ने हुनाले म चाहिँ दही चिउरे श्रेणीमा पर्ने रहेछु ।”
उनले आफ्नो व्यक्तिगत जीवनशैलीलाई पनि यसमा जोड्दै ठट्टा गरेका छन् । आफू शुद्ध शाकाहारी (भेजिटेरियन) भएको उल्लेख गर्दै उनले भनेका छन्, “त्यसै पनि भेजिटेरियन भएकोले मेरो लागि मासु भात भन्दा दही चिउरे नै राम्रो ।”
निर्वाचन नजिकिँदै गर्दा कलाकारहरू कुन दलको पक्षमा उभिन्छन् भन्ने चासो सर्वत्र हुने गर्छ । यस्तो अवस्थामा दीपकराज गिरीको यो स्पष्टोक्तिले धेरैको ध्यान खिचेको छ ।
दीपकराज गिरी बेला–बेलामा सामाजिक सञ्जालमार्फत सामाजिक र राजनीतिक विषयमा निर्धक्क भएर आफ्ना विचार राख्न रुचाउँछन् । उनको यो पछिल्लो टिप्पणीले निर्वाचनको समयमा दलहरूको पछि लाग्ने कार्यकर्ता र स्वतन्त्र मतदाताबीचको खाडललाई रोचक ढंगले चित्रण गरेको छ ।




