बक्सअफिसमा विपिन कार्कीलाई पछि पारे पल शाहले
काठमाडौं । यो वर्ष बक्सअफिसमा पल शाह निकै अगाडि बढेका छन् । ‘आ बाट आमा’ले बक्सअफिसमा अनपेक्षित कमाइ गर्दै १२ करोडको आकडा पार गर्दा धेरै चलचित्रलाई यसले पछि पारेको छ ।
पलले बक्सअफिसमा विपिन कार्कीलाई पनि पछि पारेका छन् । विपिनको चलचित्र ‘ऊनको स्वीटर’ले भन्दा धेरै कमाइ ‘आ बाट आमा’ले गरेको छ ।
पलको ‘आबाट आमा’ले गत शनिबार रातिसम्म १२ करोड २३ लाख ३८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । विपिनको ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यो आकडा हेर्दा विपिनभन्दा पल अगाडि देखिएका छन् ।
बक्सअफिसको यो तथ्यांकसँगै पलको चलचित्र ‘आ बाट आमा’ यो वर्ष बक्सअफिसमा सबै भन्दा धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । तेस्रो स्थानमा रहेको ‘ऊनको स्वीटर’ भने चौथो स्थानमा धकेलिएको छ । अब ‘आ बाट आमा’भन्दा बक्सअफिसमा अगाडि ‘परान’ र ‘जेरी अन टप’ मात्रै छन् ।
परान’ले १७ करोड ८४ हजार ४७ हजार र ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रसकलेक्सन गरेका थिए ।
माघ १६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको ‘आ बाट आमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् । यो चलचित्र अझै प्रदर्शनरत छ ‘ऊनको स्वीटर’लाई भने नवीन चौहानले निर्देशन गरेका थिए ।



