बक्सअफिसमा पलको ऐतिहासिक फड्को, ७ वर्षपछि ताडे आफ्नै व्यावसायिक रेकर्ड

काठमाडौं । अभिनेता पल शाहले बक्सअफिसमा नयाँ फड्को मारेका छन् । उनी अभिनित पछिल्लो चलचित्र ‘आ बाट आमा’ले उनकै करिअरको सबैभन्दा सफल चलचित्रको रेकर्ड तोड्दै नयाँ व्यावसायिक कीर्तिमान कायम गरेको हो ।

यसअघि २०७४ सालमा प्रदर्शन भएको ‘शत्रु गते’ पलको करिअरकै सर्वाधिक कमाउने सिनेमा थियो । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांक अनुसार यसले १२ करोड ६५ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ले त्यो आफ्नै पुरानो व्यावसायिक कीर्तिमान तोडेको हो । पलले ७ वर्षपछि आफ्नै त्यो रेकर्डलाई उछिनेका हुन् ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार ‘आबाट आमा’ले १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । बक्सअफिस तथ्याङ्क अनुसार यस अवधिमा देशभरका हलहरूमा ४ लाख ८२ हजार ६४७ जना दर्शकले यो चलचित्र हेरेका छन् ।

यो कमाइले ‘आ बाट आमा’लाई यस वर्ष (२०८१) को सर्वाधिक कमाउने दोस्रो ठूलो चलचित्र समेत बनाएको छ । यसले केही समयअघि प्रदर्शन भएको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’को लाइफटाइम व्यापारलाई समेत उछिनेर दोस्रो स्थान कब्जा गरेको हो । ‘जेरी अन टप’ले १२ करोड २६ लाख रूपैयाँ कमाएको थियो ।

यो वर्ष सर्वाधिक कमाउने चलचित्र ‘परान’ले १७ करोड ८४ हजार ४७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा, पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको निर्मातामा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना रहेका छन् ।

चलचित्रले बक्सअफिसमा सोचेभन्दा राम्रो व्यापार गरेपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्र सुपरहिट भएसँगै निर्देशक पन्त र निर्माण टिमले यसको सिक्वेल अर्थात् ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा समेत गरिसकेका छन् ।