मुलुकको ४३औँ प्रधानमन्त्रीमा आसीन हुँदै गर्दा बालेनले राखेको यो रेकर्ड

काठमाडौं । मुलुकले आज ४३औँ नयाँ प्रधानमन्त्री पाउँदै छ । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता तथा चर्चित र्‍यापर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

र्‍यापरको रूपमा स्थापित ३६ वर्षीय बालेन आज नेपालको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको पदमा आसीन हुँदैगर्दा उनको गीत ‘जय महाकाली’ ले युट्युबमा नयाँ इतिहास रचेको छ ।

बिहीबार साँझ बालेनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले नेपाली युट्युब इतिहासमै छोटो समयमा सर्वाधिक हेरिने गीतको कीर्तिमान कायम गरेको छ ।

यस गीतले सार्वजनिक भएको करिब १६ घण्टाको अवधिमा (शुक्रबार बिहान ११:४४ बजेसम्म) २८ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । नेपाली गीत-संगीतको क्षेत्रमा यो हालसम्मकै उच्च हेरिने गीत बनेको छ ।

यसअघि २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा तयार भएको ‘जाने भए जाम माया’ को नाममा थियो । सो गीतलाई २४ घण्टामा १६ लाख ३६ हजार पटक हेरिएको थियो । बालेनको ‘जय महाकाली’ ले आधा समयमै उक्त रेकर्डलाई निकै पछाडि पारेको छ ।

यो समाचार तयार पार्दासम्म यो गीतलाई २८ लाख १ हजार २१६ पटक हेरिएको छ ।

‘जय महाकाली’ को अडियो ११ वर्षअघि नै रिलिज भइसकेको थियो, जुन र्‍याप प्रेमीहरूमाझ निकै चर्चित थियो । बालेनले सोही पुरानो चर्चित ट्रयाकलाई ‘रि-मास्टरिङ’ गरेर नयाँ भिडियोसहित पुनः सार्वजनिक गरेका हुन् ।

गीतको शब्द, संगीत र र्‍याप स्वयं बालेनकै रहेको छ । भिडियोमा बालेनको पछिल्लो चुनावी अभियान, समर्थकहरूको उत्साह र काठमाडौँ महानगरको मेयर बन्ने क्रमका दृश्यहरूलाई समेत समावेश गरेर प्रस्तुत गरिएको छ ।

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयरमा ऐतिहासिक जित हासिल गरेका बालेनले राजनीति र गीत, संगीतलाई सँगसँगै अगाडि बढाउँदै आइरहेका छन् ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका बालेन पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

बालेनको शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको छ । यसपछि दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् ।

मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ ।