‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’मा प्रकाश र सुहानाको लोभलाग्दो केमेस्ट्री

काठमाडौं । स्व. गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको यसअघि ‘उडी जाउँ भने, म पन्छी होइन’ रिलिज गरेको निर्मााण टिमले शनिबार दुःख सुख जिन्दगानी’ बोलको गीत सार्वजनिक गरेको हो ।

लोकलयमा आधारित यस गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । सुदिप सागरले गीतको संगीत संयोजन गरेका हुन् ।

ग्रामीण परिवेश र त्यहाँको जीवन शैलीलाई सुन्दर ढंगले देखाइएको सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र सुहाना थापालाई फिचरिङ गरिएको छ । यो जोडीले पहिलो पटक पर्दामा स्क्रिन सेयर गरेका हुन् ।

भिडियोमा उनीहरूलाई एक ग्रामीण प्रेमी जोडीका रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनीहरूको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ । ग्रामीण भेगको जनजीवन, घाँस-दाउरा, बाख्रा गोठालो र पहाडी पाखा-पखेराको सुन्दर दृश्यले गीतलाई थप आकर्षक बनाएको छ ।

गीतको बोलले संकेत गरेझैँ, ग्रामीण जीवनमा दुःख र सुख दुई अलग पाटा नभएर एउटै सिक्काका दुई भाग हुन् । भिडियोले ‘श्रम नै जीवनको सुन्दरता हो’ भन्ने दार्शनिक पक्षलाई बलियोसँग स्थापित गरेको छ । मसला पिँध्दै गर्दा होस्, भारी बोक्दै गर्दा वा खेतमा पराल चलाउँदै गर्दा, पात्रहरू काममै रमाइरहेका छन् ।

दम्पतीको भूमिकामा रहेका प्रकाश र सुहानाले भिडियोमा दुवैले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन् । यस गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

आधुनिक र सहरिया छवि बनाएकी सुहानाले एक ग्रामीण बुहारी-युवतीको हाउभाउ र शारीरिक भाषालाई निकै सुक्ष्म ढंगले समातेकी छन् । यो उनको अभिनय यात्राको एउटा चुनौतीपूर्ण र महत्वपूर्ण मोड देखिन्छ । प्रकाश स्वयं लोक-परिवेशका ज्ञाता हुन् । उनले आफ्नो गायन र अभिनय दुवैमा ‘माटोको सुगन्ध’ मिसाएका छन् ।

भिडियोमा गाउँको वास्तविक परिवेश, ढिकी-जाँतो, बाख्रा गोठालो, र ढुङ्गाका घरहरूलाई जस्ताको तस्तै देखाइएको छ । यसले गर्दा पुरानो पुस्तालाई आफ्नो विगतको सम्झना गराउँछ भने नयाँ पुस्तालाई नेपालीपनसँग जोड्न मद्दत गरेको छ ।

लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा प्रकाश र सुहानाका साथै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रलाई संकल्प भुजेलले छायांकन गरेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

४५ वर्षअघि प्रताप सुब्बाले निर्देशन गरेको सोही नामको चलचित्रको रिमेक नभई गुरुप्रसाद मैनालीको मूल कथामा आधारित नयाँ प्रस्तुति भएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।