छायांकन नसक्दै प्रदर्शन मिति घोषणा गर्ने नीताको पुरानै शैली

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा गलत प्रचलन छ, चलचित्रको छायांकन सुरुवात नहुँदै प्रदर्शन मिति तय गर्ने । अभिनेत्री नीता ढुंगाना पनि यसबाट अछुतो छैनन् ।

आफ्नो डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘पार्वती’को छायांकन सुरु हुनुअगावै उनले दोस्रोपटक प्रदर्शन मिति घोषणा गरेकी छिन् ।

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको यसअघि रक्षा बन्धनको अवसर पारेर दुई फरक मुडका पोस्टर सार्वजनिक भएका थिए । २०८२ को माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यतिबेला फेरि चलचित्र ‘पार्वती’ रक्षा बन्धनकै अवसर पारेर आगामी वर्षको भदौ १२ गते प्रर्दशनमा आउने घोषणा गरिएको छ ।

पटकपटक मिति तय गर्नु र सारेर फेरि अर्को मितिमा पुर्याउनु उनका लागि सामान्य भइसकेको छ । ‘ह्रस्व दीर्घ’मा पनि त्यस्तै देखिएको थियो । निर्माता र निर्देशकले यसलाई सहज ढंगले लिए पनि दर्शकमा भने यसको नकारात्मकता सिर्जना गर्छ । कहिले कुन, कहिले कुन मिति परिवर्तन भइरहँदा दर्शकमा चलचित्र रिलिज डेटलाई लिएर अन्योल पैदा हुन्छ ।

जनैपूर्णिमाको शुभकामनासहित उक्त समयमा सार्वजनिक गरिएको एक पोस्टरमा पहेँलो छाता मुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा नीतालाई देखाइएको थियो । अर्को पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदाहसहित प्रस्तुत गरिएको थियो, जसले उनमा रहेको निराशपन, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गरेको थियो ।

नीता स्वयंको पनि अभिनय रहने चलचित्र ‘पार्वती’को निर्माण टिमले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको मुख्य भूमिकामा गायक अशोक दर्जी रहने जानकारी दिएको छ । नीता र अशोकले यसअघि चलचित्र ‘मन बिनाको धन’मा सँगै काम गरेका थिए ।

नीता र अशोकका अलावा चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, दीपाश्री निरौला, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ ।

रोचक कुरा त के छ भने, चलचित्रको छायांकन अझै सुरु भएको छैन । गत असोजबाट छायांकनमा निस्किने बताइएको यो चलचित्रको यही चैत २४ गतेबाट मात्र फ्लोरमा जाने तयारीमा छ ।

निर्देशक जीताकै कथा तथा पटकथा रहेको यस चलचित्रको संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

नीताले चलचित्रमा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । ‘पार्वती’बारे उनी भन्छिन्, “यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।”

प्राप्त जानकारी अनुसार चलचित्रमा नीता स्वयं ‘अटिजम’ भएकी युवती (पार्वती) को भूमिकामा देखिनेछिन् ।

सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहने चलचित्रमा डान्स ग्रुप ‘कार्टुन क्रु’का सदस्य सरोज अधिकारी पहिलोपटक ‘क्रियटिभ निर्देशक’का रूपमा जोडिएका छन् ।

यस चलचित्रको प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

भदौ १२ गते प्रदर्शन गर्ने निधो गरिएको यही मितिमा अर्को चलचित्र ‘बेहुली’ पनि प्रदर्शनमा आउँदैछ ।