‘नौतुना रेलैमा’को लोभलाग्दो क्रेज, टिकटकमा भिडियो बनाउनेको लर्को
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
यो चलचित्रमा समावेश गीत यतिबेला चर्चाको केन्द्रमा छ । गीतको सफलताले ‘पार्वती’लाई व्यवसायिक रूपमा ठूलो राहत मिल्ने अनुमान समेत गरिएको छ ।
दुई साता अघि सार्वजनिक गरिएको रत्यौली गीत ‘नौतुना रेलैमा’ यतिबेला निकै भाइरल बनेको छ, जसले चलचित्रप्रति दर्शकको उत्सुकतालाई थप उचाइमा पुर्याएको छ ।
रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको यो गीतलाई युट्युबमा १२ लाख ३४ हजार ५ सय पटक हेरिएको छ । सामाजिक सञ्जाल टिकटकमा भने ‘क्रेज’ सिर्जना गरेको छ ।
हालसम्म यस गीतमा ३० हजार २ सय भन्दा बढी प्रयोगकर्ताले टिकटक भिडियो बनाइसकेका छन् । टिकटक मात्र नभई फेसबुक र युट्युबमा पनि यो गीत उत्तिकै लोकप्रिय भइरहेको छ ।
निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो । यस प्रतियोगिताले सिर्जनात्मक भिडियो बनाउने दर्शकलाई आकर्षक नगद पुरस्कार जित्ने अवसरको घोषणा गरेको छ ।
प्रतियोगिताका उत्कृष्ट तीन विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । जसअनुसार प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै पाँच जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट प्रदान गरिने घोषणा गरिएको थियो ।प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा #पार्वती #भाद्र १२ #नौतुना रेलैमा अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको थियो ।
रामजी लामिछानेको कोरियोग्राफी हेको सार्वजनिक गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति ‘रत्यौली’लाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । विशेष गरी भिडियोमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पुरुषको भेषभूषामा (जसलाई ग्रामीण भाषामा ‘लुठो’ भनिन्छ) देखिएकी छन् । यस्तै, भिडियोमा अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, बालगायक अशोक दर्जी र क्रिमसन श्रेष्ठको समेत दमदार नृत्य देख्न सकिन्छ ।
‘नीता फिल्म्स’को प्रस्तुतिमा बनेको चलचित्रको निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।
यस चलचित्रको कथा निर्देशक स्वयम् नीता ढुङ्गानाले गरेकी हुन् । फिल्मको पटकथा लेखनमा शिवम अधिकारीको साथ रहेको छ भने सुदीप बरालको छायांकन छ ।
चलचित्रमा नीता र दीपाश्रीका साथै अशोक दर्जी, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।


