अशोकलाई लिएर नीताले सुरु गरिन् ‘पार्वती’को छायाकंन
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘पार्वर्ती’को छायाकंन सुरु भएको छ ।
मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मिर्सा गाउँ वडा नम्बर १ मा चलचित्रको शुभ-मुहूर्त गर्दै छायाकंन थालिएको हो ।
मुहूर्त कार्यक्रममा चलचित्रका कलाकार र प्राविधिक टोलीको उपस्थिति रहेको थियो । निर्माण पक्षका अनुसार ‘पार्वर्ती’को सम्पूर्ण छायाकंन करिब एक महिनाको अवधिमा सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
यस चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री नीता स्वयं देखिनेछिन् । बालगायकको रूपमा चर्चामा आएका अशोक दर्जी पनि यसको मुख्य भूमिकामा देखिँदैछन् । नीता र अशोकले यसअघि चलचित्र ‘मन बिनाको धन’मा सँगै काम गरेका थिए ।
‘नीता ढुङ्गाना फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई निर्माण पक्षले मौलिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताएको छ ।
यसअघि ‘नीता ढुङ्गाना फिल्मस्’को ब्यानरबाट चलचित्र ‘ह्रस्वदीर्घ’ निर्माण भएको थियो ।
हरिहर अधिकारी निर्माता रहेको चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको पनि अभिनय रहने जनाइएको छ ।
निर्देशक ढुंगाना स्वयंको कथा तथा पटकथा लेखन रहेको यस चलचित्रको संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।
बुझिए अनुसार यस चलचित्रमा नीता ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिनेछिन् । चलचित्रबारे उनी भन्छिन्,‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’
सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । उनी पहिलो पटक यस चलचित्रमा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् ।
यस चलचित्रमा प्रोडक्सनको काम शंकर पाण्डेले हेर्दैछन् । चलचित्रमा उनी नै कार्यकारी निर्माता पनि छन् । चलचित्रमा साहिल खानको सम्पादन रहने छ ।
यस चलचित्रलाई रक्षा बन्धनको अवसर पारेर भदौ १२ गते प्रदर्शन गर्ने निधो समेत गरिएको छ ।


