मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला
न्युयोर्क । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ ।
विगतमा भइरहेको ग्रान्ड फिनालेको स्थान परिवर्तन गर्दै विहिबारदेखि आवेदन खुला भएको आयोजक संस्था ड्रिम्स युनिभर्सलले जानकारी दिएको हो ।
आठौँ संस्करण सम्म न्युयोर्कमा हुँदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार थुप्रै राम्रा नेपाली इभेन्ट गरिसकेका चन्द्र लामाको कम्पनी युएसए इन्टरटेन्मेन्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दैछ ।
उनका अनुसार यसपालिको संस्करणमा नेपाली सिने क्षेत्र सहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीहरुको समेत उल्लेखनिय उपस्थिति हुनेछ ।
कार्यक्रमको फिनाले जुलाई २५ मा गते हुनेछ । प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको छ ।
न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु वा सोसरह हुनुपर्नेछ । उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ ।

