‘पारी बुटोल’को फरक स्वादको टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्रको टिजरमा प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ ।
ग्याङ्स्टर जनरामा निर्माण भएको चलचित्रको टिजरमा कलाकारहरूले अभिनय र महेश पौडेलले छायांकनमा मेहनत गरेको देखिन्छ । जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र ¥यापर भ्योमाको गीतले टिजरलाई नयाँपन दिएको छ ।
लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ ग्याङ्स्टर सिनेमा मात्र नभइ युवा, उनीहरूको परिवार, जीवनको संघर्ष र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेलको कथा हो ।
पर्दामा पात्रहरूलाई विश्वसनीय र यथार्थपरक देखाउन निर्माण टोलीले निकै लामो गृहकार्य गरेको थियो ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह–निर्माताको रूपमा रहेकी छन् । चलचित्रमा अनुप बराल, दीया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरीक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ । वास्तविक धरातलबाट उठेर निर्माण भएको यस चलचित्रले नेपाली दर्शकमाझनयाँ छाप छोड्ने अपेक्षा गरिएको छ ।

