‘चामे’ बन्न डराएका प्रकाश सपूत, के थियो कारण ?
काठमाडौं । ग्रामीण लोककथाका प्रणेता गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’मा सङ्ग्रहित परालको आगोमा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’ भोलि शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता सौगात मल्ल, गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ ।
आफ्ना गीत–संगीत र सिर्जनामार्फत सधैँ महिला सशक्तीकरण र सामाजिक मुद्धा उठाउने प्रकाश सपूत यसपटक यो चलचित्रमा भने बिल्कुलै उल्टो अर्थात् ‘हिंस्रक’ र ‘क्रोधी’ श्रीमानको भूमिकामा देखिँदैछन् ।
चलचित्रमा प्रकाशले ‘चामे’ नामक मुख्य पात्रको भूमिका निर्वाह गरेका छन् । कथा अनुसार चामे एक मेहनती किसान त हुन्, तर उनको स्वभाव अत्यन्तै क्रोधी र उग्र छ । सामान्य कुरामा पनि श्रीमतीमाथि हात हाल्ने र आवेगमा निर्णय लिने चामेको चरित्रले तत्कालीन समाजको एउटा पाटोलाई प्रतिनिधित्व गर्छ । सार्वजनिक भइसकेको टिजर र ट्रेलरमा प्रकाशको यो उग्र रुपलाई दर्शकले प्रष्टसँग देख्न सक्छन् ।
वास्तविक जीवन र सांगीतिक यात्रामा प्रकाश सपूतको छवि एउटा ‘सभ्य’ र ‘नारी संवेदना’ बुझ्ने व्यक्तिको रूपमा स्थापित छ । त्यसैले पनि चामेको भूमिका निर्वाह गर्नु उनका लागि सहज थिएन । सुरुमा स्कृप्ट पढ्दा उनी यो पात्रलाई लिएर केही हच्किएका थिए ।
आफ्नो डरका बारेमा प्रकाश भन्छन्, ‘समाजमा मेरो एउटा आफ्नै छवि छ, विशेष गरी महिला अधिकार र सम्मानका विषयमा म सचेत छु । यो पात्रले मेरो त्यो छाप बिगार्ने हो कि भन्ने डर सुरुमा थियो । तर, एक अभिनेताका लागि चामे जस्तो बहुआयामिक र जीवनका विविध रंग भएको पात्र निभाउन पाउनु एउटा ठूलो अवसर पनि हो ।’ चामेको भूमिकामा देखिएका उतारचढाव र संवेदनालाई पर्दामा उतार्न पाउनुलाई उनले आफ्नो कलाकारिताको परीक्षणका रूपमा लिएका छन् ।
चलचित्रको प्रचार सामग्री सार्वजनिक भएपछि प्रकाशले मिश्रित प्रतिक्रिया पाइरहेका छन् । धेरैले उनको अभिनयको प्रशंसा गर्दै उनलाई ‘अब्बल अभिनेता’को रूपमा स्विकारेका छन् । यद्यपि, महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील कतिपयले भने उनलाई यस्तो नकारात्मक र हिंस्रक भूमिकामा देख्न नसकेको भन्दै फोन गरेरै गुनासो समेत गरेका छन् ।
यस विषयमा प्रकाश स्पष्ट पार्छन्, ‘चलचित्रले समाजको यथार्थ बोल्छ । चामेको व्यवहार गलत भए पनि कथाको मर्म र अन्त्यले अर्कै सन्देश दिन्छ । चलचित्र पूरै हेरेपछि दर्शकले मेरो पात्र र कथाको गहिराइलाई अझ प्रष्टसँग बुझ्नुहुनेछ ।’
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रकाश, सौगात र सुहानाका साथमा सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय देख्न सकिनेछ ।
यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।
साहित्यिक कृतिमाथि बनेका चलचित्रले सधैँ नेपाली बजारमा छुट्टै स्थान बनाउने गरेका छन् । चलचित्रका गीत, टिजर र ट्रेलरले युट्युबदेखि टिकटकसम्म बनाएको बलियो ‘हाइप’का कारण यसले घरेलु बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले यही कथामा चलचित्र बनाएका थिए ।



