‘परालको आगो’का निर्माता भन्छन्- पहिलो दिनको व्यापार ३८ लाख नजिक छ
काठमाडौं । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर निर्माण भएको सोही नामको चलचित्र ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ ।
वैशाख ११ गते (शुक्रबार) बाट देशभरका हलमा प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिनमै उत्साहजनक व्यापार गर्दै दर्शकको मन जित्न सफल भएको हो ।
प्रदर्शन भएसँगै निर्देशकदेखि कलाकारसम्म दर्शकको प्रतिक्रिया बुझ्न हल भ्रमणमा निस्किएका छन् ।
चलचित्रका निर्माता सुशील पोखरेलका अनुसार ‘परालको आगो’ ले प्रदर्शनको पहिलो दिन अर्थात् शुक्रबार ३७ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।
निर्माता पोखरेलले मिडियासँग कुरा गर्दै आधिकारिक तथ्याङ्क ३८ लाखको हाराहारीमा रहेको जानकारी दिए । ‘शुक्रबारको व्यापार निकै उत्साहजनक छ,’ निर्माता पोखरेलले भने, ‘शनिबार हलहरूमा दर्शकको चाप हिजोको तुलनामा अझ बढी देखिएको छ । दर्शकले फिल्म हेरेपछि सकारात्मक प्रतिक्रिया दिनुभएको छ र धेरैले दोहोर्याएर हेर्ने इच्छा समेत व्यक्त गर्नुभएको छ।’
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपूत, सिर्जना अधिकारी र शंकर आचार्य लगायतको मुख्य भूमिका रहेको छ । विशेषगरी सुहाना र सौगातको जोडीसँगै प्रकाश सपुतको उपस्थितिले हलमा रौनक थपेको छ । चलचित्रमा बाल कलाकार मन्जिला बानियाँको अभिनयलाई पनि दर्शकले निकै रुचाएका छन् ।
सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा श्रीमान्-श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ ।
निर्देशक लक्ष्मण सुनारले आफूले कथाको मर्म अनुसार सक्दो मेहनत गरेको बताएका छन् । त्यस्तै, चलचित्रका पटकथा तथा संवाद लेखक सुशील देवकोटाले दर्शकको सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको बताए ।
चलचित्रलाई आर आर फिल्म्सका रोहित कट्टेलले नेपालभर वितरण गरेका हुन् । कट्टेलका अनुसार चलचित्रप्रति दर्शकको उत्साह हरेक शोमा बढ्दो क्रममा छ ।
यसअघि वि.सं. २०३० को दशकमा प्रताप सुब्बाको निर्देशनमा यसै कथामा आधारित चलचित्र निर्माण भई अत्यधिक सफल भएको थियो । अहिलेको नयाँ संस्करणलाई आधुनिक प्रविधि र नयाँ शैलीमा प्रस्तुत गरिएको छ ।




