मातृभाषी चलचित्र प्रवर्द्धनका लागि दमकमा ‘चलचित्र निर्देशन’ तालिम

दमक। झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको हो ।

चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी संघको आयोजनामा शनिबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।

आगामी वैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा चलचित्रकर्मी सहभागी छन् । तालिमको सहजीकरण चलचित्र निर्देशक अरुण प्रधानले गरिरहेको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डको तर्फबाट बोर्डका अधिकृत अप्सरा समालको सहभागिता रहेको छ ।

मातृभाषी चलचित्रमार्फत स्थानीय भाषा, संस्कृति, मौलिक कथा र समुदायको पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विशेषगरी धिमाल समुदायका युवालाई चलचित्र निर्देशनको आधारभूत ज्ञान, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियासम्बन्धी सीप प्रदान गर्ने लक्ष्य तालिमले लिएको छ ।

चलचित्र विकास बोर्डले मातृभाषी चलचित्र, स्थानीय सर्जक तथा आदिवासी जनजाति समुदायका कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवर्द्धन र विस्तार गर्न यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

बोर्डका अनुसार मातृभाषी चलचित्रको विकास केवल चलचित्र निर्माणसँग मात्र सम्बन्धित नभई भाषा, संस्कृति, पहिचान र स्थानीय प्रतिभा विकाससँग पनि जोडिएको विषय हो। दमकमा सुरु भएको तालिमले धिमाल समुदायका युवा चलचित्रकर्मीलाई आफ्नै भाषा र संस्कृतिका कथा चलचित्रमार्फत अभिव्यक्त गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।