‘छ माया छपक्कै २’मा दीपक-केकीको जोडी दोहोरिँदा सनिशाको इन्ट्री, केदार घिमिरे नहुने !

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकै सफल फ्रेन्चाइजमध्येको एक ‘छ माया छपक्कै’को सिक्वेल निर्माणको सुरुवात गरिएको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ‘छ माया छपक्कै २’ को औपचारिक निर्माण कार्य सुरु गरिएको हो ।

दीपेन्द्र लामाको निर्देशनमा बन्ने यस चलचित्रको निर्माण टिमले मन्दिरमा पूजाआजा गर्दै स्क्रिप्ट र क्यामेराको पूजा गरी शुभ साइत गरेको छ ।

आमा सरस्वती मूभिज र निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण हुने यो चलचित्रको नियमित छायांकन भने आगामी १८ गतेदेखि नुवाकोटबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

४० दिनको तालिका तय गरिएको चलचित्रको छायांकन पोखरा र काठमाडौंका विभिन्न रमणीय स्थानहरूमा गरिने छ ।

चलचित्रको अघिल्लो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी नै देखिनेछन् । अघिल्लो भागमा उनीहरूको जोडी र केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।

कलाकारको सूचीमा यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराईको नाम थपिएको छ । उनले यस चलचित्रमार्फत दीपक-दीपाको समूहसँग पहिलोपटक काम गर्न लागेकी हुन् ।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाका अनुसार यो विशुद्ध सिक्वेल चलचित्र हो । उनले भनिन्, ‘यो अघिल्लो भागको निरन्तरता हो । ‘छ माया छपक्कै’ को कथा जहाँ पुगेर अन्त्य भएको थियो, यो फिल्मको कथा ठ्याक्कै त्यही विन्दुबाट अगाडि बढ्नेछ ।’

‘छ माया छपक्कै’ को पहिलो भागका अभिन्न हिस्सा मानिने केदार घिमिरे ‘माग्ने बुढा’ भने यस श्रृंखलामा नदेखिने सम्भावना बढी छ । उनी हाल अमेरिकामा छन् । यद्यपि, केदार नेपाल फर्किएको खण्डमा उनलाई चलचित्रमा समेट्न सकिने ढोका भने खुल्ला राखिएको दीपाश्रीले आर्टखबरलाई जानकारी दिएकी छन् ।

बुझिएअनुसार ‘माग्ने बुढा’ नआउने निश्चित भएसँगै निर्माण टिमले चलचित्रको कथामा परिवर्तन गरेको छ । तर, अन्य जानकारी र अरु कलाकारबारे अहिले सस्पेन्स नै राखेको छ ।

सामाजिक-राजनीतिक कथावस्तु रहने ‘छ माया छपक्कै २’को दीपकराज र दीपेन्द्रले पटकथा लेखेका हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले खिच्नेछन् ।

सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’ पनि यही टिमको सहकार्यमा बनेको थियो र सो चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको थियो ।

निकट स्रोतका अनुसार दीपक-दीपा समूह यस चलचित्रमा मुनाफाको हिस्सेदारी (प्रफिट सेयरिङ) लिने गरी जोडिएको हो । यो मोडलमा काम गर्दा टिम थप जिम्मेवार र सफल हुने विश्वास निर्माण पक्षको छ ।

यो चलचित्र आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको ब्यानरमा निर्माण हुन लागेको हो । कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन् ।

बक्स अफिसमा सफल हुने ग्यारेन्टी मानिने दीपक-दीपाको समूहले यस चलचित्रलाई आगामी दशैं को अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।