‘परालको आगो’को गीत ‘बिरही बतास’ सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’को चर्चामा छ । निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिरही बतास’सार्वजनिक गरेको हो ।

आइतबार निर्माण टिमले स्वरूपराज आचार्यको स्वर, सुरेन्द्र रानाको शब्द रचना तथा सत्य–स्वरूपको संगीतमा तयार पारिएको यस गीतको भिडियो रिलिज गरेका हुन् ।

गीत युटुबमा रिलिजभएसँगै चलचित्रलाई थप प्रमोसनमा साथ मिलेको छ । सार्वजनिक गीत ‘बिरही बतास’ले फिल्मको कथावस्तुलाई अझ गहिरो बनाउँदै दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ । यस गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने रेकर्डिङ राजेश श्रेष्ठको छ । गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

‘परालको आगो’मा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । साथै शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय रहेको छ ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्माण गरिएको यो फिल्मले प्रदर्शनको नवौं दिनमा ३ करोडभन्दा बढी कमाई गरिसकेको छ । निर्माता पोखरेलले यो फिल्मको नौ दिनको कमाई ३ करोड १३ लाख रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएको बताए ।