फ्राइडे रिलिजमा एकै दिन तीनवटा नेपाली चलचित्र हलमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ एक साथ आजबाट प्रदर्शनमा आएका हुन् ।
प्राविधिक कारणबस ‘लालीबजार’ आज रिलिज हुँदा एउटा सिनेमाको संख्या अनपेक्षित रूपमा थपिएको हो ।
यो सिनेमा वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तय थियो । तर, अदालतमा रिट परेकै कारण रोकिएको थियो । बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् ।
प्रदर्शनको बाटो खुलेलगत्तै रिलिज हुँदा एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आएका हुन् ।
आजैबाट ‘मालतीको मंगले’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेयको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।
चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ । यसका निर्माता गायक समेत रहेका रामकृष्ण ढकाल हुन् ।
चलचित्र ‘गुरुआमा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् ।
मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् ।




