‘मन विनाको धन २’मा अनुबन्ध भएपछि के भन्छिन् पूजा शर्मा ?

काठमाडौं । गत वर्षको हिट सिनेमा ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । गत वर्ष रिलिज भएर बक्सअफिसमा ४ करोड ग्रस कलेक्नस गर्न सफल यो फिल्मको सिक्वेल ‘मन विनाको धन २’ निर्माणको घोषणा गरिएको हो ।

यो फिल्मलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।

यसैबीच, यो फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुवन्धित भएकी छिन् । पूजा र टंकबीच आइतबार फिल्मका लागि कागजी संझौता भएको छ । भदौबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

“सुरुवातमै पूजाजीलाई फिल्ममा अनुवन्धित गरेका छौँ । अरु, कलाकारहरुलाई पनि एकपछि अर्को रुपमा अनुवन्धित गर्ने तयारी भइरहेको छ,” निर्देशक टंकले भने ।

नायिका शर्माले पनि यो फिल्ममा जोडिन पाउँदा आफू खुसी भएको बताइन् । पूजाले भनिन्, “फिल्मको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ ।”

यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।