मौलिकताले भरिएको ‘मितज्यू’को ट्रेलर

काठमाडौं । चलचित्र ‘मितज्यू’को ट्रेलरको सबैभन्दा सशक्त पक्ष यसको मौलिक पन हो । आवरणमा देखिने मौलिक पन होस् वा कलाकारको लवज अथवा यसको मौलिक शब्द, यही नै यसको सबैभन्दा सशक्त पक्ष हो ।

ट्रेलरमा देखिने कलाकारले जसै आफ्नो भागको संवाद बोल्छन्, दर्शकलाई आञ्चलिकतातर्फ डोर्याउँछ । ट्रेलरमा केही शब्द सुन्दा थोरै अड लाग्न सक्छ । तर, सिनेमाले जुन भूगोलको कथा भन्न लागेको हो, त्यो क्षेत्रका स्थानीको ठेट भाषा (शब्द) हो ।

स्थानीय स्तरमा साथीभाइबीच तथा गाली वा झगडामा आवेशमा आएर प्रयोग गरिने शब्दको प्रयोग भएको छ । लुगाले स्थानीय पनलाई थप बलियो बनाएको छ । मित लगाउने परम्परा, मित भइसकेपछिको सम्बन्ध र त्यसलाई जोगाउन गरिने प्रयासले ट्रेलरलाई जीवन्त बनाउने प्रयास गरेको छ ।

भर्खर भर्खर सडकको ट्रयाक खुलेपछि सुरुसुरुमा रुटमा गाडी हाल्नेको दादागिरीलाई ट्रेलरले देखाएको छ । आफ्नो मात्रै एकाधिकार राखिराख्न गर्ने प्रयास र त्यसमा अवरोध सिर्जना हुँदा हुने झगडाले ट्रेलरले गाउँले जीवन भोगेर सहर पसेकालाई पुरानै दुनियाँमा फर्काउने सामर्थ्य राखेको छ ।

साइनो र सम्बन्धमा गरिने विश्वास र त्यसमा हुने विश्वासघातलाई ट्रेलरले देखाउँदा हुबहु गाउँमै पुगे तथा देखे र भोगेको छनक महसुस गराउँछ । यसमा कलाकारले गरेको अभिनयले साँच्चै गाउँलेको सत्य घटना हेरिरहेको जस्तो ट्रेलर हेर्दा महसुुस हुँदा सिनेमा प्रतिक्षित बनेको छ । यो मौलिक पन नै यो सिनेमाका लागि शक्ति बन्न सक्छ । आर्थिक सामाजिक पक्षसँगै घुसेको प्रेम र सांस्कृति पक्ष तथा रितिथितिले सिनेमालाई बलियो बनाएको अनुमान लगाउन ट्रेलरले बल दिएका छ ।

अनिल बुढा मगरले निर्देशन गरेको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ ।