‘भुनभुन माहुरी’मा रुषाको छमछमी, दयाहाङ र सौगात जिस्कँदै-नाच्दै
काठमाडौं । चलचित्र ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो गीत ‘गैराघरे काइँली’ ले दर्शकको मन जितिरहेका बेला निर्माण पक्षले आइतबार लोकलयमा आधारित यो दोस्रो गीत रिलिज गरेको हो ।
सार्वजनिक गरिएको ‘भुनभुन माहुरी’ मा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ । गीतमा लक्ष्मी मल्ल र श्रीकृष्ण स्वयम्को स्वर सुन्न सकिन्छ ।
‘दोहोरी साँझ’ को परिवेशमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य आकर्षण दयाहाङ राई र सौगात मल्लका साथमा अभिनेत्री रुषा न्यौपाने लाई फिचर गरिएको छ ।
निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको भिडियोमा तीन पात्रबीचको मायाप्रेम र ठट्टालाई प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेत्री रुषा केन्द्रविन्दुमा छिन् । दयाहाङ राई र सौगात मल्ल दुवैले उनीसँग जिस्कँदै र नाच्दै गरेको देख्न सकिन्छ ।
भिडियोमा सौगात अलि स्टाइलिस र ‘कुल’ अवतारमा देखिएका छन् । दयाहाङ सधैँझैँ आफ्नो स्वभाविक अभिनय र मुस्कानसहित झुल्किएका छन् । रुषाले दुवै नायकसँग तालमा ताल मिलाउँदै उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छिन् ।
गीतको शब्दले मायाप्रेम र सामीप्यताको कुरा गर्छ । ‘टाढा भइस नभन त कहहिले, तिमीसँगै छु सानु म जहिले’ भन्ने बोलले प्रेमी–प्रेमिका बीचको अटुट सम्बन्धलाई व्यक्त गर्छ। यस गीतले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा निर्माण पक्षको छ ।
गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घर ज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्रबाट चर्चित डान्सर तेरिया फौजा मगर ले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन् ।
चलचित्रमा दयाहाङ, सौगात र तेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको सशक्त अभिनय रहेको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा जनक घर्ती मगरको लगानी रहेको छ । लोकेश बज्राचार्यको सम्पादन रहेको यो चलचित्रलाई शिशिर बिशंखेले खिचेका हुन् ।
यो चलचित्रले नेपाली समाजको हराउँदै गएको ‘मित’ लगाउने परम्परा र मित्रताको भावनात्मक कथालाई पर्दामा ल्याउनेछ ।



