तीन चरणमा सकियो उपासना र सोनम स्टारर ‘जलाकी’को छायांकन
काठमाडौं । चलचित्र ‘खुस्मा’ फेम निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘जलाकी’को छायांकन सम्पन्न भएको छ ।
गत शनिबार पर्यटकीय नगरी पोखरास्थित इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै सिनेमाको ‘इन्डक्ल्याप’ गरिएको हो ।
तीन चरण गरेर चलचित्रको सम्पूर्ण छायांकन ३९ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ ।
सिनेमाको शीर्षक ‘जलाकी’ले मगर समुदायको एउटा गहिरो सांस्कृतिक र भावनात्मक पक्षलाई बोकेको छ । मगर समुदायमा कसैको सम्झना र मायाको प्रतीकका रूपमा ढुङ्गाले चिनो लगाएर बनाइने स्तम्भलाई ‘जलाकी’ भनिन्छ । यही मौलिक अवधारणालाई आधार बनाएर सिनेमाले त्रिकोणात्मक प्रेम कथा बुनेको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । ‘खुस्मा’मा अभिनय गरेकी उपासनाले सोही सिनेमाबाट ‘उत्कृष्ट अभिनेत्री’को राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी थिइन् । निर्देशक अशोकसँग उनको यो दोस्रो सहकार्य हो । ‘जलाकी’को विषयवस्तु र आफ्नो भूमिकालाई लिएर उपासना निकै उत्साहित देखिएकी छन् ।
उपासनासँगै चलचित्रमा अभिनेता तथा गायक सोनम तोप्देन र शिल्पा मास्के मुख्य भूमिकामा छन् । यी तीन कलाकारबीचको त्रिकोणात्मक सम्बन्ध नै सिनेमाको मूल कथा हुने बुझिएको छ ।
माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर लगायतको चलचित्रमा अभिनय छ । विशेष भूमिकामा क्याप्टेन बिजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनहा मगर रहेका छन् ।
यही चलचित्रबाट ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
यस चलचित्रलाई रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखराका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा तीन चरणमा गरेर छायांकन गरिएको हो । सिनेमाले मगर र गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहनलाई पर्दामा उतार्ने निर्माण टिमको भनाइ छ ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण भएको ‘जलाकी’लाई चर्चित सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीले खिचेका हुन् । सिनेमामा एसडी योगी र सरित राईको संगीत छ भने सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टले गीत लेखेका छन् ।
सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
निर्देशक अशोक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल हुनुका साथै यसको गीत ‘रुकुम मैकोट’ले युट्युबमा १० करोड भ्युज बटुलेर कीर्तिमान कायम गरेको थियो । पहिलो सिनेमाबाटै उच्च साख बनाएका अशोकको दोस्रो प्रोजेक्ट भएकाले पनि ‘जलाकी’लाई लिएर सिने वृत्तमा निकै चासो र उत्साह छ ।
निर्देशक अशोकका अनुसार अब सिनेमाको पोस्ट-प्रोडक्सनको काम तीव्र गतिमा सुरु हुनेछ । निर्माण टिमले केही दिनभित्रै सिनेमाको ‘फर्स्टलुक पोस्टर’ सार्वजनिक गर्दै आधिकारिक प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।


