‘खुस्मा’मा धिरजसँग जमेकी उपासनाको ‘जलाकी’मा सोनामसँग कस्तो होला केमेस्ट्री ?
काठमाडौं । अघिल्लो चलचित्र ‘खुस्मा’मार्फत चर्चामा आएका निर्देशक अशोक थापा मगर यतिबेला आफ्नो दोस्रो प्रोजेक्ट ‘जलाकी’को तयारीमा छन् ।
‘खुस्मा’मा धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले निकै रुचाए । तर, निर्देशक मगरको नयाँ चलचित्र ‘जलाकी’मा भने उपासनाको जोडी फेरिएको छ । यसपटक पर्दामा उपासनालाई सोनाम तोप्देनले साथ दिँदैछन् ।
निर्माण पक्षले आगामी मंसिर ४ गतेलाई प्रदर्शन मिति तोक्दै सार्वजनिक गरेका दुई पोस्टरपछि प्रश्न उब्जिएको छ- के धिरजसँग जस्तै उपासनाको केमेस्ट्री सोनामसँग पनि जम्ला त ?
किन कि ‘जलाकी’को घोषणा र शुभमुहूर्त हुँदा सोनम तोप्देन नै मुख्य भूमिकामा थिए । तर, अर्को चलचित्र ‘ऐरी’को सुटिङका क्रममा एउटा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टा भाँचियो । उनी निको हुन समय लाग्ने भएपछि निर्देशक मगरले सिनेमाको काम नरोक्न धिरजलाई मुख्य अभिनेताका रूपमा अनुबन्ध गरे । त्यतिबेला धिरज र उपासना फिचर्ड पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
यता, छायांकन तालिका लम्बिएसँगै अभिनेता सोनमलाई आफ्नो पुरानो भूमिकामा दोहोरिने मौका मिल्यो, र पोस्टरमा फिर्चड भइसकेका अभिनेता धिरज सुटिङ सुरुवात हुँदा प्रोजेक्टबाट बाहिरिए ।
दर्शकले ‘खुस्मा’कै जोडी देख्न पाउने चर्चाका बाबजुद अब उपासना र सोनामलाई अन-स्क्रिन जोडीका रुपमा हेर्नु पर्ने छ ।
निर्देशक अशोक थापा मगरका लागि ‘जलाकी’ एक परीक्षा पनि हो । उनको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल मात्र भएन, यसको गीत ‘रुकुम मैकोट’ले युट्युबमा १० करोड भ्युजको कीर्तिमान समेत बनायो । साथै, उपासनाले यही टिमसँग काम गरेर ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’मा उत्कृष्ट अभिनेत्रीको पुरस्का समेत जितेकी छन् । त्यसैले, अघिल्लो सफलताको साख जोगाउँदै सोनाम र उपासनाको नयाँ जोडीलाई स्थापित गराउने चुनौती निर्देशकसँग छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनाम र उपासनालाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको छ । यी दुई पोस्टरले चलचित्र केवल एउटा प्रेमकथा मात्र नभई प्रेमका अनेक आयाम, सम्बन्धका उतारचढाव र जीवनका संवेदनशील क्षणहरूको कथा भएको संकेत गर्छन् ।
‘जलाकी’ले मगर समुदायको एउटा गहिरो अर्थ बोकेको छ । निर्देशक मगरका अनुसार ‘जलाकी’ भनेको मगर समुदायमा आस्थाको प्रतीकका रूपमा मानिने ढुङ्गाले चिनिएको स्तम्भ हो । यसलाई कसैको सम्झना र मायाको प्रतीकको रूपमा पनि लिइन्छ ।
उपासना र सोनामसँगै चलचित्रमा शिल्पा मास्के मुख्य भूमिकामा छन् । यी तीन कलाकारबीचको त्रिकोणात्मक सम्बन्ध नै सिनेमाको मूल कथा हुने बुझिएको छ ।
यस्तै, चलचित्रमा माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर लगायतको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन बिजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनहा मगर रहेका छन् । यही चलचित्रबाट ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण भएको ‘जलाकी’लाई चर्चित सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीले खिचेका हुन् । सिनेमामा एसडी योगी र सरित राईको संगीत छ भने सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टले गीत लेखेका छन् ।
सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
निर्देशक मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल हुनुका साथै यसको गीत ‘रुकुम मैकोट’ले युट्युबमा १० करोड भ्युज बटुलेर कीर्तिमान कायम गरेको थियो । पहिलो सिनेमाबाटै उच्च साख बनाएका अशोकको दोस्रो प्रोजेक्ट भएकाले पनि ‘जलाकी’लाई लिएर सिने वृत्तमा निकै चासो र उत्साह छ । पहिलो सफलताको निरन्तरतास्वरूप ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वास उनले व्यक्त गरेका छन् ।
यस चलचित्रलाई रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखराका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा तीन चरणमा गरेर छायांकन गरिएको हो ।
यो चलचित्रको नेपाल वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन् ।

