दयाहाङ र सौगात भर्सेस् विपिन, केकी भर्सेस् तेरिया, कसले मार्ला बक्सअफिसमा बाजी ?

काठमाडौं । यो शुक्रबारबाट चलचित्र ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आउँदैछन् । यी दुवै चलचित्रमा अब्बल अभिनेताहरूको अभिनय छ ।

‘काजी’मा विपिन कार्की मुख्य भूमिकामा छन् । ‘मितज्यू’मा दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन् ।

‘काजी’ महिला पात्रमा मुख्य भूमिकामा केकी अधिकारी छिन् । ‘मितज्यू’मा भने तेरिया मगर मुख्य भमिकामा छिन् । ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आउँदा दयाहाङ राई र सौगात मल्ल भर्सेस विपिन कार्की आमनेसमाने हुनेछन् ।

नायिकामा भने केकी अधिकारी र तेरिया मगरबीच प्रतिस्पर्धा हुनेछ । तेरियाको यो डेब्यु मुभी हो । तर, ट्रेलर हेरेर उनको प्रशंशा गर्ने धेरै छन् ।

यी दुवै चलचित्र गाउँको सेटपमा छन् । गाउँको कथा उठान गरेका सिनेमा हुन् । अभिनेतात्रय पनि रंगमञ्चबाट आएका छन् । फरक भने ‘काजी’ लभस्टोरी अलिक धेरै भएको सिनेमा हो भने ‘मितज्यू’ सोसल ड्रामा हो ।

केही समानता र भिन्नताबीच बक्सअफिसमा यी दुई चलचित्रमा कसले बाजी मार्छ, त्यो भने हेर्न बाँकी छ ।

‘मितज्यू’मा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ ।

यता, ‘काजी’लाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । चलचित्रमा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ र असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमा चिन्तन राजभण्डारीको छायांकन र कालीप्रसाद बास्कोटाको संगीत छ ।