‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’को बक्सअफिस रिपोर्टले देखाएन राम्रो संकेत
काठमाडौं । गत साताको शुक्रबारबाट प्रदर्शनमा आएका दुईवटा नेपाली सिनेमा ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ बक्सअफिसमा निकै कमजोर देखिएका छन् ।
चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ दुवैले बक्सअफिसमा आफूलाई सफल बनाउन सकेनन् । आँचल शर्माको ‘एक मुठ्ठी बादल’ले पाँच लाख २१ हजार र सुरक्षा पन्तको ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार रुपैयाँ कलेक्सन गरेको छ ।
यो बक्सअफिस तथ्यांक शनिबारसम्मको हो ।
वैशाख २५ गते प्रदर्शनमा आएको चलचित्र ‘लालिबजार’ले पाँच करोड ७६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का छिन् ।
वैशाख २५ मै प्रदर्शन भएको ‘मालती मंगले’ले ५१ लाख ६३ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसको मुख्य भूमिकामा विजय बराल र वर्षा राउत छन् ।
वैशाख २५ मै प्रदर्शनमा आएको चलचित्र ‘गुरुआमा’ले २९ लाख ४२ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । मिथिला शर्मा मुख्य भूमिकामा छिन् ।
चलचित्र ‘परालको आगो’ले चार करोड २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको मुुख्य भूमिकामा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापालयायत छन् ।
यो शुक्रबारबाट प्रदर्शनमा आएका दुई सिनेमा ‘मितज्यू’ र ‘काजी’को बक्सअफिस रिपोर्ट भने सार्वजनिक भएको छैन ।




