‘लज्जावती’मा मुकुन भुसालको ‘सरप्राइज’ लुक्स
काठमाडौं । चलचित्र ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रको निर्माण पक्षले छायांकन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शन मिति घोषणा गरेको हो ।
काठमाडौँको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिन लामो छायांकन सम्पन्न गरिएको बताएको छ ।
यो चलचित्र आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउनेछ । यो मितिमा अहिलेसम्म कुनै पनि नेपाली सिनेमाले आधिकारीक रुपमा आफ्नो प्रदर्शन मिति घोषणा गरेका छैनन् ।
यो सिनेमामा अभिनेता मुकुन भुसाल मुख्य भूमिकामा देखिँदैछन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा मुकुनलाई निकै भिन्न र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ ।
‘बुलबुल’ र ‘पूर्णबहादुरको सारंगी’ जस्ता सिनेमाबाट अभिनयको छाप छाडेका मुकुन यसपटक ग्रामीण परिवेशको एक जिम्मेवार चरित्रमा देखिएका छन् ।
तस्विरमा मुकुन बच्चा बोकिरहेको सुत्केरी महिलाको अवतारमा छन् । उनको काखमा निलो लुगामा बेरिएको एक सानो शिशु देखिन्छ।
फरक भूमिकामा देखिएका मुकुनको अनुहारको भाव र उनको पहिरनले उनी चलचित्रमा एक संघर्षशील ग्रामीण बाबु वा परिवारको संरक्षकको भूमिकामा रहेको संकेत गर्दछ । यसअघिका भूमिकाभन्दा यो चरित्र अलि बढी परिपक्व र भावनात्मक हुनसक्ने अनुमान गरिएको छ ।
आफ्ना अघिल्ला चलचित्रमा चरित्रप्रधान अभिनयका लागि चिनिएका मुकुनका लागि ‘लज्जावती’ को यो पात्र करियरकै एउटा विशेष मोड हुनसक्ने बुझिएको छ ।
आहा फिल्मस्को ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकायाले लगानी गरेका छन् ।
सिनेमामा मुकुनका साथै श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम लगायतको अभिनय छ ।
सिनेमालाई दिव्यराज सुवेदीले खिचेका हुन् भने तारा थापा ‘किम्भे’ले सम्पादन गरिरहेका छन् । देव महर्जनको द्वन्द्व निर्देशन रहेको यस सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ ।


