‘काजी’ले विपिनले लिएको पारिश्रमिक पनि उठाएन ?

काठमाडौं । बक्सअफिस तथ्यांकलाई आधार मान्ने हो भने नेपाली कथानक चलचित्र ‘काजी’ले नौ दिनमा जम्मा ४० लाख ८८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सोलो रिलिजको मौका नपाएको यो चलचित्र ‘मितज्यू’सँगै प्रदर्शनमा आएको थियो ।

स्टारकास्ट रहेको ‘काजी’मा विपिन कार्की र केकी अधिकारीजस्ता लोकप्रिय कलाकारको अभिनय थियो । यो सिनेमाको प्रचार पनि राम्रैसँग भएको थियो । विपिन पब्लिसिटीका लागि कम्मर कसेर लागेका थिए । उनी मेनस्ट्रिमदेखि पोडकास्टसम्म अन्तर्वार्ता दिँदै हिँडेका थिए ।

लभस्टोरी सिनेमा ‘काजी’ नेपाली सिनेमाको इतिहासमा माइलस्टोन चलचित्र बन्ने बताएका थिए । साहित्यमा ‘मुनामदन’ भएजस्तै चलचित्रमा लभस्टोरी चलचित्रमा ‘काजी’ २०औँ वर्षपछि पनि सम्झिइने चलचित्र बन्ने दाबी विपिनले अन्तर्वार्ताहरूमा गरेका थिए ।

तर, हलमा भने उनले भनेजस्तो सिनेमा मन पराइएन वा लक्षित वर्गसम्म पुग्न सकेन, राम्रो ग्रसकलेक्सन गर्न सकेन । ४० लाख ग्रसकलेक्सन भनेको विपिनले लिने जति पारिश्रमिक पनि होइन ।

यो चलचित्रमा विपिनले कति पारिश्रमिक लिए भन्ने यकिन तथ्यांक बाहिर आएको छैन, तर मोटामोटी उनी ५० लाखको सेरोफेरोमा पारिश्रमिक लिन्छन् । त्यसैले ‘काजी’ले विपिनले लिए जति पारिश्रमिक पनि हलबाट उठाउन सकेन भन्न सकिन्छ ।

यदि, विपिनले भनेजस्तै ‘काजी’ राम्रो सिनेमा रहेछ भने चाहिँ यसले अहिले हलमा राम्रो पफर्मेन्स नगरे पनि यसको लाइफटाइम भ्यालु भने रहनेछ ।

यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमाले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको छ । सिनेमाका निर्देशक लक्ष्मण रिजाल हुन् ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन र विपिन मल्लको सम्पादन तथा बनिश शाहको सुपरभाइजर सम्पादन छ ।

प्रदीप भारद्वाजको कथा लेखन रहेको सिनेमाका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।