‘टिका : स्टेटलेस सोल’को छायांकन सुरु

कास्की । फिल्म ‘टिका : स्टेटलेस सोल’को छायांकन सुरु भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो ।

४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ । अन्य दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुनेछ ।

भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने निर्माण टिमले यसअघि नै घोषणा गरिसकेको छ ।

शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिलाप्रधान चलचित्र भनिएको छ। आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशक छन् ।

फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको प्रमुख अभिनय रहनेछ। ‘टिका’मा नरेन्द्र मैनालीको सिनेमाटोग्राफी छ ।

फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् ।