१० करोड क्लबको यात्रामा ‘लालीबजार’, अरुले कति कमाए ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

प्रदर्शनरत चलचित्रको सार्वजनिक विवरणअनुसार चलचित्र ‘रोल नं १’ले आइतबारसम्म एक करोड ३५ लाख कलेक्सन गरेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन रहेको छ ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

चलचित्र ‘कुम्भ’ले ३९ लाख रुपैयाँ कलेक्सन गरेको छ । यो चलचित्र आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । एक्सनलाई प्राथमिकता दिइएको यस चलचित्रमा रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

सबैभन्दा धेरै ‘लालीबजार’ले बक्सअफिसमा कमाएको छ । यो सिनेमा १० करोड क्लबमा पुग्ने तयारीमा छ । यसले नौ करोड १६ लाख कलेक्सन गरेको छ । यम थापा निर्देशित चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का र रविन्द्र सिंह बानिया यो चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्र ‘मितज्यू’ले एक करोड ३२ लाख  कलेक्सन गरेको छ । सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर यसको मुख्य भूमिकामा छन् । अनिल बुढा मगरले यसलाई निर्देशन गरेका छन् ।

विपिन कार्कीको मुख्य भूमिका रहेको र लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र ‘काजी’ले ४४ लाख ४८ हजार कलेक्सन गरेको छ । विपिन र केकी अधिकारी यसको मुख्य भूमिकामा छन् ।