११ वटा चलचित्रको व्यापार १८ करोड माथि, ७ फिल्म बक्सअफिसमा असफल

काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपाली चलचित्र बजारमा निकै उतारचढाव र उच्च प्रतिस्पर्धा देखियो । यो दुई महिना नेपाली चलचित्र बजारका लागि निराशाजनक छ ।

वैशाख र जेठ महिनाको अवधिमा नेपाली बक्स अफिसमा ११ वटा चलचित्र प्रदर्शनमा आए । साताकै दुईवटासम्म चलचित्र रिलिज हुने होडबाजी पनि चले तर, व्यापारिक नतिजा भने उत्साहजनक देखिएन ।

दुई महिना यो अवधिमा ११ वटा फिल्मले हलबाट कुल १८ करोड ४० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गरे तापनि लगानी सुरक्षित गर्ने मामिलामा भने केवल एउटा फिल्म मात्र सफल देखिएको छ ।

चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार यी दुई महिनामा रिलिज भएका ११ चलचित्रमध्ये ७ वटा चलचित्र व्यापारिक रूपमा असफल भएका छन् भने केवल ४ वटाले मात्र १ करोड रुपैयाँभन्दा माथिको ‘ग्रस कलेक्सन’ गर्न सफल भएका छन् ।

यो दुई महिनामा नेपाली सिनेमा हलबाट करिब १८,४०,३२,२०५ रुपैयाँ बराबरको व्यापार भएको छ । यसमध्ये झण्डै ५० प्रतिशत हिस्सा एक्लै ‘लालीबजार’ ले ओगटेको छ ।

वैशाख २५ गते रिलिज भएको ‘लालीबजार’ मात्र यस्तो चलचित्र बनेको छ, जसले व्यापारिक सफलताको स्वाद चाखेको छ । यसले आफ्नो लगानी सुरक्षित मात्र गरेन, निर्मातालाई नाफासमेत दिलाएको छ ।

वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले जेठ ३१ गतेसम्म ९ करोड १६ लाख रूपैयाँ भन्दा बढी कमाइ गर्दै वर्षकै सर्वाधिक सफल फिल्म बनेको छ । यो फिल्मले दर्शकको साथ निरन्तर पाइरहेको छ ।

नेपाली चलचित्र वृत्तमा १ करोड कमाउनुलाई एउटा मानक मानिए पनि यसपटकको तथ्याङ्कले फरक दृश्य देखाएको छ । ‘लालीबजार’ बाहेक अन्य ३ फिल्मले १ करोडको आँकडा पार गरे पनि महँगो बजेट र हलको सेयर बाँडफाँडका कारण यी फिल्मको लगानी अझै सुरक्षित हुन सकेको छैन ।

‘परालको आगो’ले ४ करोड २८ लाख कलेक्नस गरेको छ । यसले भने डिजिटल र इन्टरनेसनल राइट्सबाट लगानी सुरक्षितसम्म गरेको हुनसक्छ ।

‘रोल नं १’ : १ करोड ३५ लाख कलेक्सन गरेको छ । यो सिनेमा करोड क्लबमा प्रवेश गरे पनि हालसम्म लगानी सुरक्षित गर्न सकेको छैन । ‘मितज्यू’ १ करोड ३२ लाख कलेक्सन गरेको छ । तर, स्टार कास्ट रहेको यो चलचित्रले पनि लगानी सुरक्षित गर्न सकेको छैन ।

विशेष गरी जेठ १५ मा रिलिज भएको ‘रोल नं. १’ र जेठ ८ मा रिलिज भएको ‘मितज्यू’ बीच तेस्रो स्थानका लागि निकै ठूलो प्रतिस्पर्धा देखिएको छ । पछिल्लो साता ‘रोल नं. १’ ले व्यापारमा सुधार गर्दै ‘मितज्यू’ लाई पछि पारेको हो ।

यो सिजन धेरै आशा गरिएका र पुराना निर्देशकका फिल्मले समेत दर्शक तान्न सकेनन् । १ करोडको नेट कलेक्सन पनि गर्न नसक्ने ७ वटा फिल्म पूर्ण रूपमा असफल भएका छन् । यी फिल्महरूले लगानी उठाउन नसक्ने गरी व्यावसायिक असफलता बेहोरेका छन् । ‘कुम्भ’ हाल देशभरमा १ शो पाएर प्रदर्शनरत छ भने व्यापारिक रूपमा कमजोर छ ।  

चलचित्र विकास बोर्डले गत आइतबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस विवरण ‘कुम्भ’ ले ३ लाख ९१ हजार १० रूपैयाँ मात्र ग्रस कमाएको छ । यसले आगामी दिनमा लगानी सुरक्षित गर्ने सम्भावना न्यून देखिन्छ ।

तुलसी घिमिरेको ‘पहाड’ ६३ लाख ९३ हजार १६२ रुपैयाँमा खुम्चियो । मालती मंगले: ५१ लाख ६३ हजार ६९३ रुपैयाँ । ‘काजी’को ४४ लाख ४६ हजार ६० रुपैयाँ मात्रै कमाउन सफल भयो ।

लाइफ ड्यामेज: ३४ लाख ६६ हजार २९० रुपैयाँ । गुरूआमा: २९ लाख ४२ हजार रुपैयाँ । एक मुठ्ठी बादल: यो वर्षकै सबैभन्दा कमजोर व्यापार गर्दै मात्र ५ लाख २१ हजार रुपैयाँमा सीमित भयो ।

यो दुई महिनाको अवधिमा ७ वटा चलचित्रको व्यापार निकै कमजोर देखियो ।

वैशाख १ गते बाहेक हरेक साता फिल्म प्रदर्शन गर्ने होडबाजीले गर्दा एउटा फिल्मले अर्को फिल्मको व्यापार काटेको देखिन्छ । स्टार कलाकार भएर पनि ‘काजी’ र ‘पहाड’ जस्ता फिल्मले लगानी उठाउन सकेनन् ।

हाल हलहरूमा ‘लालीबजार’, ‘मितज्यू’, ‘रोल नं. १’ र ‘कुम्भ’ प्रदर्शन भइरहेका छन् । आगामी हप्ताहरूमा नयाँ फिल्म आउने क्रमसँगै यी फिल्मको व्यापारिक आकार निर्धारण हुनेछ । तर, सुरुवाती दुई महिनाको ट्रेन्ड हेर्दा नेपाली चलचित्रले लगानी उठाउन नसकेको स्पष्ट देखिन्छ ।