हलमा कुन सिनेमाको अवस्था कस्तो छ ?
काठमाडौं । दशैँको छेको पारेर अहिले तीनटा सिनेमा प्रदर्शनमा छन् ।
शुक्रबार रिलिज भएका ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ तथा शनिबारबाट प्रदर्शनमा आएको ‘६ माया छपक्कै २’ प्रदर्शन भइरहेका छन् ।
‘आ बाट आमा २’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ २’लाई विराज भट्टले निर्देशन गरेका छन् । ‘६ माया छपक्कै २’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।
यी तीनवटा सिनेमाको शो हेर्दा ‘६ माया छपक्कै २’ सबैभन्दा अगाडि छ । दोस्रोमा ‘आ बाट आमा २’ र तेस्रोमा ‘१२ गाउँ २’ रहेको छ ।
चलचित्र ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन् ।
सिनेमामा विश्वास, प्रेम, सन्तानत सुख, छटपटी, विश्वास, आशा, सम्बन्ध, छलकपट र धोकाको सेरोफेरोमा सिनेमाको कथा रहेको छ । दीपकराज गिरी यो सिनेमामा पठाओ चालकको भूमिकामा रहेका छन् ।
रोहित अधिकारी निर्माता रहेको चलचित्रमा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे, कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्र ‘आ बाट आमा २’ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको छ ।
पारिवारिक प्रेम, सम्बन्धको मिठास र आमा–सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको यस चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको सङ्गीत र गम्भीर बिष्टको नृत्य निर्देशन छ ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ २’ एक्सनप्रधान सिनेमा हो । एक्सनसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई यो सिनेमाले प्रस्तुत गरेको छ ।
बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ ।
चलचित्रमा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारको छ । महेश पौडेलले छायांकन गरेको चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।


