आफ्नै सिनेमाको पोस्टर किन सेयर गरेनन् अरुणले, निर्माता/निर्देशकसँग सम्बन्ध बिग्रिएको हो ?

काठमाडौं । केही दिन अघिमात्रै जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’को प्रदर्शन मिति घोषणा गर्दै एक पोस्टर सार्वजनिक भयो । पोस्टरअनुसार यो सिनेमा असोज ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने छन् । प्रकाश शाहको आँखामा देखिने आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच टक्कर रहेको संकेत गर्छ ।

पोस्टरले चलचित्रको मुख्य भूमिकामा अरुण नै रहेको प्रस्ट छ । यसअघिको अनाउन्समेन्ट टिजरले पनि त्यही संकेत गरेको थियो ।

तर, यहाँ अनौठो पक्ष चाहिँ के छ भने अरुणले ‘हन्टर’को पोस्टर आफ्नो फेसबुकमा सेयर गरेका छैनन् । जबकी सामान्यतया यस्ता पोस्टर, गीत, टिजर र ट्रेलर सिनेमाका नायक/नायिका र निर्देशकले सुरुमा सेयर गर्ने गरेको पाइन्छ ।

तर, ‘हन्टर’को पोस्टरको हकमा यो देखिएन । अरुणले सुरुमा मात्रै होइन करिब एक साता बितिसक्दा पनि पोस्टर सेयर गरेका छैनन् । किन उनले आफैं हिरो भएको सिनेमाको पोस्टर सेयर गरेनन्, जबकी अरुण हिरो रहेको ‘गौँथली’का प्रचार सामग्री भने उनले सेयर गरिरहेका छन् ।

उनी पछिल्लो समय आउँदो साउन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘गौँथली’को प्रचारप्रसारमा क्यारेक्टरमा देखिने गरी समेत प्रस्तुत भइरहेका छन् । उनले यो चलचित्रको रिलिज नजिकिएकाले दर्शकमा पहिले यही सिनेमामा ध्यान जाओस् भन्ने हिसाबले पनि ‘हन्टर’को पोस्टर सेयर नगरेका हुन सक्छन् । यद्यपि, यसबारे उनले केही बताएका छैनन् ।

तर प्रायः कलाकारले आफ्नो सिनेमाका पोस्टर, टिजर आउँदा अन्य फिल्म रिलिजको क्रममा रहँदा पनि सेयर गरिरहेका हुन्छन् ।

‘गौंथली’को पोस्टर सेयर गर्ने तर ‘हन्टर’को सेयर नगर्नुले कतै उनको सम्बन्ध यसका निर्देशक तथा निर्मातासँग बिग्रिएको त छैन ? भन्ने प्रश्न समेत उब्जिएको छ ।

अब सम्बन्ध बिग्रिएर सिनेमाको पोस्टर नै सेयर नगर्ने अवस्था आएको हो भने भोलि रिलिजको समयमा पब्लिसिटीमा पनि नहिँड्लान् । सिनेमाको हिरो नै पब्लिसीटीमा हिँडेनन् भने सिनेमा कसरी चल्छ होला त ? तर, कामना गरौैँ– यस्तो पनि नहोस् । सम्बन्ध बिग्रिएकै रहेछ भने पनि सुध्रियोस् । सिनेमाका सबै कलाकार जोडतोडले यसको प्रचारमा लागुन् ।

चलचित्रका लेखक तथा निर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।

ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह–निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।