‘टक्सिक’को त्रासले नेपाली चलचित्रको भागाभाग, निडर ‘पार्वती’
काठमाडौं । नेपाली चलचित्र बजारमा भारतीय (दक्षिण भारतीय र बलिउड) ठुला स्टारका सिनेमा आउँदा नेपाली निर्माताहरूले आफ्नो प्रदर्शन मिति हेरफेर गर्नु एउटा ‘नमिठो नियति’ नै बनिसकेको छ ।
त्यसैले भारतका सिनेमाले नेपाली सिनेमाको रिलिज डेट तय हुन्छ भनिन्छ । यो पटक पनि यो पुष्टि भएको छ । भारतबाट ‘टक्सिक’ आउने भएपछि केही नेपाली चलचित्रको प्रदर्शन मिति हेरफेर भएको छ ।
भदौ १० गते ‘टक्सिक’ प्रदर्शनमा आउने भएसँगै नेपाली चलचित्र वृत्तमा हलचल मच्चिएको छ । ‘टक्सिक’ले नेपालका हलहरूमा उल्लेख्य शो कब्जा गर्ने निश्चित देखिएपछि भदौ १२ गतेका लागि प्रदर्शन तय गरेका नेपाली चलचित्रहरू धमाधम पछि हट्न थालेका छन् ।
‘टक्सिक’को असर ‘बेहुली’, ‘मास्टर्नी’ र ‘जदौ’मा देखिएको छ । भिडन्तबाट बच्न र सुरक्षित व्यवसाय खोज्नका लागि नेपाली चलचित्रले आफ्नो रिलिज मिति परिवर्तन गरेका छन् ।
प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ १२ छोडेर अघि सरेको छ । यो चलचित्र अब एक हप्ता अगाडि अर्थात् भदौ ५ मा प्रदर्शन हुनेछ । सुभेन्दु घोषले यसलाई निर्देशन गरेका छन् । प्रियंका यसको मुख्य भूमिकामा छिन् । निर्माता पनि उनै हुन् ।
संगीतकार अर्जुन पोखरेल निर्माता रहेको चलचित्र ‘बेहुली’ १४ दिन पर सर्दै २६ गते रिलिज हुने भएको छ । यसमा टिकटकर पारस बम ठकुरी (कुलव्बाय) र दिव्या रायमाझी मुख्य भूमिकामा छन् । सशान कँडेल यसका निर्देशक हुन् ।
यस्तै, अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ले पनि हिम्मत हारेको छ । उक्त मितिमा यो चलचित्र नआउने सम्भावना रहेको बुझिएको छ ।
हालसम्म चलचित्रको ठोस प्रचार सामग्री सार्वजनिक नहुनु र निर्माण पक्ष मौन रहनुले पनि यो चलचित्र उक्त मितिमा नआउने सम्भावना बलियो छ । यो चलचित्रमा मुकुन भुसाल, रिचा शर्मा, नीति शाह मुख्य भूमिकामा छन् ।
यता चलचित्र ‘पार्वती’ भने निडर देखिएको छ । सबै चलचित्रहरू ‘टक्सिक’को डरले भाग्दै गर्दा अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको चलचित्र ‘पार्वती’ भने भदौ १२ गतेबाट अडानमा टसको मस भएको छैन । यो चलचित्र भदौ १२ मै आउने भएको छ ।
नेपाली सिनेमा हलहरूमा विदेशी चलचित्रको दबदबा कायमै रहँदा स्वदेशी लगानीकर्ताहरू सधैँ जोखिममा रहने गरेका छन् । यद्यपि, रिलिज डेट परिवर्तन गर्ने खेल अन्तिम समयसम्म पनि चल्ने गरेको विगतको अनुभव छ । ‘पार्वती’ले आफ्नो साहस कायमै राख्छ या अरु झैँ मिति सार्छ, त्यसका लागि केही दिन कुर्नै पर्नेछ ।

