‘टक्सिक’को ट्रेलर सार्वजनिक, वयस्कहरूका लागि दन्त्यकथा कसरी ?

काठमाडौं । ‘केजिएफ’ फेम अभिनेता यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको यो चलचित्रको ट्रेलरले दर्शकमाझ ठूलो उत्साह जगाएको छ ।

सार्वजनिक ट्रेलर निकै भव्य, डार्क र स्टाइलिश छ । ट्रेलरको सुरुवातदेखि अन्त्यसम्म यशलाई एक शक्तिशाली र गम्भीर अवतारमा देखाइएको छ । उनलाई कहिले सिगार पिउँदै गरेको डनको रूपमा त कहिले हातमा मेसिनगन लिएर दुश्मनको सामना गरिरहेको युद्ध मैदानको योद्धाको रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको ट्यागलाइन ‘ए फेयरी टेल फर ग्रोन अप्स’ (वयस्कहरूका लागि एक दन्त्यकथा) ले नै यसको कथावस्तु परम्परागत प्रेमकथा भन्दा भिन्न रहेको संकेत गर्छ । ट्रेलरमा सर्कसको सेटिङ, रंगिन तर डरलाग्दो जोकरको श्रृंगार गरेका बालबालिकाहरू र जलिरहेको फेरिस ह्विल ‘पिङ’ जस्ता दृश्यहरूले चलचित्रमा रहस्य र थ्रिलको मिश्रण रहने प्रस्ट पार्छ ।

निर्देशक गीतू मोहनदासले चलचित्रलाई विश्वस्तरीय सिनेमाको महसुस गराउन कुनै कसर बाँकी राखेकी छैनन् । वर्षाको रातमा खिचिएका दृश्यहरू, घना जंगलको झरनादेखि हिउँले ढाकिएका पहाडहरूसम्मको छायांकन निकै उत्कृष्ट छ । ट्रेलरमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिकले दृश्यहरूलाई अझ प्रभावशाली बनाएको छ ।

ट्रेलरमा रोयल सर्कसलाई बारम्बार देखाइएको छ । यो सर्कस केवल मनोरञ्जनको ठाउँ मात्र नभई कुनै अवैध धन्दाको केन्द्र वा मुख्य पात्रको लुक्ने ठाउँ हुन सक्छ । ट्रेलरमा भनिएको छ,‘आफ्नो अनुहारमा मास्क लगाएर दुःख लुकाउन सकिन्छ, तर भाग्यमा लेखिएको विनाशलाई होइन’ यसले बुझाउँछ पात्रहरू बाहिरबाट एउटा देखिन्छन् तर भित्र उनीहरूको जीवन निकै अँध्यारो छ ।

यशको एउटा संवाद छ- ‘के म तिमीलाई सिविलाइज्ड ‘सभ्य’ देखिन्छु ?’ यसले उसको पात्र निकै क्रुर र खतरनाक छ भन्ने बुझाउँछ । उसले आफ्नो ‘भाइ’ को बदला लिनको लागि कुनै पनि हदसम्म जान सक्ने संकेत गर्छ । ट्रेलरको अन्त्यतिर हिउँले ढाकिएको पहाडमा हुने ठूलो लडाइँले चलचित्रमा चरम हिंसा र बदलाको कथा रहेको पुष्टि गर्छ ।

ट्रेलरमा नयनतारा, कियारा र हुमाका दृश्यहरू छन्, जसले भावनात्मक र रहस्यमयी भूमिका निभाएको बुझिन्छ । कोही पात्र प्रेमसँग त कोही शक्ति र धोकासँग जोडिएका छन् । यद्यपि, ट्रेलर यशकै वरिपरि कथा घुमेको देखिन्छ जहाँ उनी दोहोरो भूमिकामा छन् ।

‘टक्सिक’ एउटा यस्तो मानिसको कथा हो जो बाल्यकालको पीडाबाट गुज्रिएर अपराधीहरूको संसारको राजा बन्छ । यो एउटा यस्तो कथा हो जहाँ परी र राजकुमार होइन, बरु बन्दुक, रगत, र बदलाको खेल छ । त्यसैले यसलाई ट्यागलाइनमा ‘वयस्कहरूका लागि दन्त्यकथा’ भनिएको छ ।

केभीएन प्रोडक्सन र मनस्टर माइन्ड क्रिएसन्सले लायन्सगेटसँगको सहकार्यमा निर्माण भएको यस चलचित्रमा यशसहित नयनतारा, कियारा आडवाणी, हुमा कुरैसी, तारा सुतारिया र रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र भदौ १० अर्थात् २६ अगस्टमा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ ।