‘भागदौड’ले ‘जाँड’लाई पनि उछिन्न सकेन, हजारमै सीमित रह्यो कलेक्सन
काठमाडौं । चलचित्र ‘भागदौड’ यो वर्षकै हालसम्मको सबैभन्दा कम बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनेको छ । सीमित केही हलमा गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र बक्सअफिसमा फितलो देखिएको छ ।
आइतबारसम्म यो चलचित्रले बक्सअफिसमा एक लाख पनि कटाउन सकेको छैन । असार २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले १० दिनमा ९२ हजार ९९५ रुपैयाँ मात्रै कलेक्सन गरेको छ । करोडौंमा बनेको यो चलचित्रको ब्यापार हजारमै अड्किएको हो ।
यो सिनेमाभन्दा अघि कम कमाउने चलचित्र ‘जाँड’ थियो । ‘जाँड’ले १ लाख २६ हजार कलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ । यसको भन्दा पनि कम कलेक्सनमा ‘भागदौड’ अड्किएको हो ।
‘भागदौड’ प्रचारप्रसार नगरी रिलिज भएको थियो । यो चलचित्रमा हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको छ । अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।
विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको चलचित्रमा अंगिरा थापा कार्यकारी निर्माता रहेकी छन् । सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी छन् । सुप्रिम म्युजिक एण्ड फिल्मस प्रालिले निर्माण गरेको यो चलचित्रले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्छ ।
यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । चलचित्रले बुङमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायतका विभिन्न समुदायबीचको सह–अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पर्दामा देखाएको छ ।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ ।


