‘गौँथली’बाट हिट भएका अरुण र सिम्रन

काठमाडौं । नेपाली सिनेमा उद्योगमा अहिले अरुण क्षेत्री र सिम्रन खड्काको जोडी हिट छ । चलचित्र ‘गौँथली’ बक्सअफिसमा ब्लकबस्टर भएपछि यो जोडी अहिले चर्चामा छ ।

चलचित्र ‘महापुरुष’बाट नेपाली सिनेमा उद्योगमा डेब्यू गरेका अरुणले त्यसयता केही चलचित्रमा काम नगरेका होइनन् । तर तिनले अपेक्षा गरेजस्तो सफलता पाउन सकेनन् ।

‘प्रेमगञ्ज’बाट सिम्रनले सिनेमाको यात्रा सुरु गरिन् । तर, लिड रोल भने उनको ‘गौँथली’ नै पहिलो हो ।

‘अगस्त्य च्याप्टर- १’, ‘चित्रा’, ‘बेहुली फ्रम मेघौली’मा सिम्रनले काम गरेकी थिइन् । तर, उनका लागि ‘गौँथली’ नै सिने करिअरको ट्रनिङ पोइन्ट बन्यो । यो सिनेमा ब्लकबस्टर भएपछि अब उनको डिमान्ड बढ्ने निश्चित छ । छोटो समयमै हिट हुने थोरै भाग्यमानी कलाकारमा सिम्रन पनि एक हुन् ।

‘प्रेमा’, ‘ज्याकी आई एम २१’, ‘पहाड’लगायत चलचित्रमा अरुणले काम गरेका छन् । ‘महापुरुष’ सफल चलचित्र हो । तर, अरुण यो सिनेमामा हरिवंश आचार्यको छायामा परे । उनको सिने करियर यो सिनेमाबाट बुस्ट हुन सकेन । त्यसैले उनले लाइमलाइटको नायकका लागि कुर्नु नै प¥यो ।

तर, ‘गौँथली’ले भने नेपाली सिनेमा उद्योगमा अरुणलाई राम्रै लाइमलाइटमा ल्यायो । यो उनको पाँचौँ फिल्म हो । यो चलचित्र ‘गौँथली’ दोस्रो सातामा प्रवेश गर्दैगर्दा अरुणलाई थुप्रै मेकरले आफ्नो सिनेमाका लागि प्रस्ताव गरिसकेका बुझिएको छ ।

डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।