अरुणको ‘गौँथली’ले समीरको ‘१२ गाउँ’लाई जित्ला ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा अनमोल केसी, प्रदीप खड्का र पल शाहको विकल्पमा अब देखा परेका छन्, अरुण क्षेत्री । चलचित्र ‘महापुरुष’बाट नै नेपाली सिनेमा उद्योगमा भित्रिए पनि अरुणले बक्सअफिसमा सोलो लिडका रुपमा हिट सिनेमा भने दिन सकेका थिएनन् ।
तर, ‘गौँथली’बाट उनले आफूलाई सशक्त अभिनेताका रूपमा अघि सारिसकेका छन् । बक्सअफिस कलेक्सन मात्रै होइन अभिनय क्षमताका हिसाबले पनि उनको प्रशंसा भइरहेको छ । त्यसैले उनलाई अब निर्विकल्प रुपमा अनमोल, प्रदीप, पल र धिरजजस्ता नायकको विकल्प बनेर आएको चर्चा भइरहेको छ ।
उनले एकै दिन ‘म मदनकृष्ण’ र त्यसपछि बन्ने हरिवंश आचार्यको बायोपिकका लागि साइन गरिसकेका छन् । अरु आधा दर्जन मेकरले उनलाई अफर गरेका स्रोतको भनाइ छ ।
अरुणले पल, अनमोल र प्रदीपका सिनेमालाई पछि पारिसकेका छन् । अब उनले पछि पार्न समीर भट्टको चलचित्र ‘१२ गाउँ’लाई मात्रै बाँकी छ ।
समीरको ‘१२ गाउँ’लाई उछिन्न अरुणको ‘गौँथली’ले २० करोड कलेक्सन गर्नुपर्नेछ । ‘१२ गाउँ’ १९ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
शुक्रबार मध्यान्हसम्म चलचित्र ‘गौँथली’ले १६ करोड ३४ लाख ४० हजार ०७२ रुपैयाँ कमाइ गरेको छ । चलचित्र विकास बोर्डले गत सोमबार सार्वजनिक गरेको विवरणअनुसार साउन १७ गतेसम्म १३ करोड ६४ लाख ४६ हजार ५३५ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
अब दुई दिनपछि सोमबार विकास बोर्डले सार्वजनिक गर्ने विवरणमा ‘गौँथली’को १८ करोड माथि आउने अनुमान गरिएको छ ।
यता, पल शाहको ‘आ बाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ले १२ करोड २८ लाख ग्रसकलेक्सन गरेको थियो ।
‘गौँथली’भन्दा धेरै कमाउने सूचीमा ‘जारी’, ‘छक्कापञ्जा ४’, ‘परान’, ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् भने आगामी साता १८ करोड माथि बक्सअफिस रिपोर्ट आउँदा ‘जारी’ र ‘परान’सँगै ‘छक्कापञ्जा ४’लाई भने उछिन्ने देखिन्छ ।




