‘गौंथली’को कमाई २४ करोडभन्दा माथि, कतिले हेरे ?

काठमाडौं । कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस विवरणअनुसार हालसम्म यो चलचित्रले २४ करोड ३ लाख ९२ हजार रूपैयाँ ग्रसकलेक्सन गरेको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’को ८ लाख ७४ हजार ८ सयभन्दा बढी टिकट बिक्री भएका छन् ।

अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत ‘गौंथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यसले ‘कबड्डी ४’को २१ करोड ४० लाख रूपैयाँको कमाइलाई पछि पार्दै यो रेकर्ड बनाएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लबकस्टर फिल्मको सूचीमा ‘कबड्डी ४’को कमाइ २१ करोड ४० लाख उल्लेख थियो ।

हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान ‘पूर्णबहादुरको सारंगी’को नाममा छ । यसले ४६ करोड ८७ लाख ४१ हजार रूपैयाँ कमाएको थियो ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रन मुख्य भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।

शिक्षाको महत्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन् ।