पछिल्लो साता ‘गौँथली’को कमाइ थप ६३ लाख, अहिलेसम्म कति कमायो ?

काठमाडौं । चलचित्र ‘गौंथली’ले बक्स अफिसमा आफ्नो उत्साहजनक प्रदर्शनलाई कायम राखेको छ । प्रदर्शनको सातौँ हप्ता पार गर्दासम्म पनि चलचित्रको व्यापारिक रफ्तार थामिएको छैन ।

घरेलु बक्स अफिसमा २५ करोडको आँकडा पार गरेको ‘गौँथली’ले पछिल्लो ७ दिनमा मात्र ६२ लाख ९६ हजार ३ सय ८ रुपैयाँ कमाएको छ । चलचित्रको अघिल्लो आइतबार (भाद्र ७)सम्मको कमाइ २५ करोड ५ लाख ६५ हजार ७ सय ७२ रूपैयाँ थियो ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ले हालसम्म २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ । यो कमाइ भदौ १४ गतेसम्मको हो ।

चलचित्रको व्यापारिक कमाइ मात्र होइन, सिनेमा हेर्ने दर्शकको संख्या पनि उत्तिकै उत्साहजनक छ । भदौ १४ गतेसम्मको अवधिमा ९ लाख ३१ हजार ६ सय २७ वटा टिकट बिक्री भएका छन् ।

‘गौँथली’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने दोस्रो सिनेमा बनिसकेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

यसैबीच, चलचित्रका निर्माता ५१ दिनको प्रदर्शन पूरा भएको अवसरमा नयाँ सिनेमा घोषणा गर्ने तयारीमा रहेका छन् ।