‘गौँथली’ निर्माण टिमद्वारा बाढीपीडितलाई १४ लाख सहयोग

काठमाडौं । चलचित्र ‘गौँथली’ निर्माण टिमले भोटेकोशी बाढी पीडितलाई सहयोग गरेको छ । ‘गौँथली’ निर्माण टिमले प्रधानमन्त्री राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको छ ।

“..यस्तो कठिन घडीमा पीडित नागरिकसँगै उभिनु हामी सबैको मानवीय दायित्व हो भन्ने महसुस गर्दै हाम्रो चलचित्र ‘गौथली’ परिवारले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा रु. १४ लाख सहयोग गरेका छौँ,” चलचित्र ‘गौँथली’का निर्माता सुमन गिरी लेख्छन्, “यो रकम केवल सहयोग होइन, विपत्तिमा परेका हाम्रा आफ्नै दाजुभाइ तथा दिदीबहिनीप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको सानो प्रयास हो ।”

उनी अगाडि लेख्छन्, “हामीले दिएको यो सानो सहयोगले कसैको पीडामा थोरै भए पनि राहत मिलोस्, कसैको आँसु पुछ्न सघाओस् र संकटको यस घडीमा ‘तपाईंहरू एक्लै हुनुहुन्न, हामी तपाईंहरूसँगै छौँ भन्ने अनुभूति दिलाउन सकोस् भन्ने हाम्रो चाहना हो ।”

चलचित्र ‘गौंथली’ले बक्स अफिसमा २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ । साउन १ गते रिलिज भएको यो चलचित्रले शनिबार ५१ औं दिन मनाउँदैछ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।