‘अक्षरा’को ट्रेलरमा छोरीको चित्कार र विद्रोहको कथा

काठमाडौं । सामाजिक विषयवस्तु र पारिवारिक संवेदनालाई मुख्य आधार बनाएर निर्माण भएको चलचित्र ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी भदौ २६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको ट्रेलर शुक्रवार काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनकाबीच सार्वजनिक गरिएको हो ।

विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक ट्रेलरले नेपाली समाजमा जकडिएर रहेको पितृसत्तात्मक सोच र अभिभावकको चाहना छोरीमाथि लाद्ने प्रवृत्तिको यथार्थ चित्रण गरेको छ । जसमा एउटी छोरीको इच्छा र चाहनालाई लत्याउँदै अभिभावकले केवल ‘खान्दानी’ घर र केटो हेरेर जबरजस्ती गरिदिने विवाहले निम्त्याउने पारिवारिक कलह र त्यसले समाजमा पार्ने दीर्घकालीन असरलाई देखाइएको छ ।

विवाहपछि सुरु हुने सास्ती र श्रीमान्‌को दमनलाई ट्रेलरमा उतारिएको छ । खान्दानी भनिएको घरभित्र छोरीले भोग्नुपर्ने मानसिक र शारीरिक हिंसा, र रक्सीको नशामा श्रीमानले गर्ने दुर्व्यवहारलाई फिल्मको मुख्य द्वन्द्व बनाइएको छ ।

एउटा गलत निर्णयले कसरी एउटी महिलाको मात्र होइन, पूरै परिवारको खुसी खोस्छ भन्ने कुरा ट्रेलरमा देखिएको छ । माइती र घरपक्षबीचको असमझदारी, सामाजिक प्रतिष्ठाको डर र त्यसले निम्त्याउने पारिवारिक बिखण्डनलाई ट्रेलरले बोलेको छ ।

अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्कालाई मुख्य रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट एउटी नारीको पीडा, बाध्यता र अन्ततः न्यायका लागि गरिने साहसी यात्राको कथा चलचित्रमा रहेको अनुमान लगाउन सकिन्छ । 

चलचित्रको निर्माण पक्षले उक्त कार्यक्रममा एक प्रशंसनीय घोषणा समेत गरेको छ । सिनेमा प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने कुल रकमको १० प्रतिशत हिस्सा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ । प्राकृतिक विपत्तिका बेला राज्यलाई सघाउनु नागरिक र कलाकार दुवैको दायित्व भएको भन्दै निर्माण पक्षले यस्तो घोषणा गरेको उल्लेख गरेका छन् ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील र न्यान्सीका अलावा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ । साथै, बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई देख्न सकिन्छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यो चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी छ भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।

निर्माता उग्रसेन स्वयंको मूल कथा रहेको ‘अक्षरा’को पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन् । चलचित्रमा कर्णराज गिरीको सङ्गीत र सुरेन्द्र रानाको शब्द रहेको छ भने अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ ।

चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन र साहिल खानको ट्रेलर, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ ।