५१औँ दिन मनाएको ‘गौंथली’ले हालसम्म कति कमायो ?
काठमाडौं । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौंथली’ले बक्स अफिसमा आफ्नो उत्साहजनक प्रदर्शनलाई कायम राखेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गर्ने तयारीमा रहेको चलचित्रको व्यापारिक रफ्तार थामिएको छैन ।
४३ हलमा ५९ शो सहित प्रदर्शनको ५१ औँ दिन मनाइसकेको चलचित्र अहिले पनि सुरुवाती शो झैँ प्रदर्शनरत छ । घरेलु बक्स अफिसमा २५ करोडको आँकडा पार गरेको ‘गौँथली’ले पछिल्लो ७ दिनमा थप २० लाख कमाएको छ । चलचित्रको अघिल्लो आइतबार (भाद्र १४)सम्मको कमाइ २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ रूपैयाँ थियो ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ‘गौँथली’ले हाल (भदौ २१ गते आइतबार)सम्म २५ करोड ८६ लाख २८ हजार ६ सय १५ रुपैयाँ ग्रस कमाएको छ । चलचित्रको अवधिमा ९ लाख ३० हजार ७ सय ४४ वटा टिकट बिक्री भएका छन् ।
यस वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको ‘गौँथली’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने दोस्रो सिनेमा बनिसकेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।




