चलचित्र ‘आचार्य’को पहिलो गीत सार्वजनिक, सजिनासँग रोमान्टिक मूडमा देखिए निखिल
काठमाडौं । एक्सन स्टार निखिल उप्रेती एक्सनमा मात्रै होइन, रोमान्समा पनि देखिएका छन् । उनको निर्माण, लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ ।
चलचित्रको निर्माणपक्षले यसअघि फर्स्टलुक र टिजर सार्वजनिक गरेपछि सिनेमाको पहिलो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । जसमा उनीहरुलाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ ।
एक्सनप्रधान भूमिकामा दर्शकमाझ स्थापित निखिललाई ‘लै बरी लै’मा भने बिल्कुलै फरक मुडमा देख्न सकिन्छ । गीतमा निखिल र सजिनाबीचको प्रेमभाव र केमेस्ट्रीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । यसले निखिलको एक्सन स्टारको छविभन्दा फरक उनको रोमान्टिक पक्षलाई समेत उजागर गरेको छ ।
निखिल आफ्ना चलचित्रमा एक्सनसँगै रोमान्सलाई पनि प्राथमिकता दिँदै आएका छन् । ‘आचार्य’मा पनि एक्सन, रोमान्स र मनोरञ्जनको मिश्रणलाई केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ ।
निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको चलचित्रमा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीका साथै बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायतको अभिनय छ । पूर्णिकाले यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।
चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् । शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् भने बन्दे प्रसादले सम्पादन गरेका छन् ।
लेखन, निर्देशन र निर्माणसँगै चलचित्रमा मुख्य भूमिकासमेत निखिल उप्रेतीकै रहेको छ । चलचित्र असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ ।




