दिव्याको करियरमा सुखद् बनेन ‘बेहुली’, अब दिव्याको करियर के होला ?
काठमाडौं । चलचित्र ‘पिताम्बर’ होस् वा ‘एक्टर : टेक वान’ अथवा ‘राम नाम सत्य’, दिव्या रायमाझीलाई यी सिनेमाबाट ठूलो आशा थियो । तर, सधैँ सबैका लागि सोचेजस्तो कहाँ हुन्थ्यो र ? भएन । बक्सअफिसमा यी चलचित्र हिट हुन्छन् भन्ने उनलाई आशा थियो । तर, उनको आशा विपरीत यी सिनेमा त्यति धेरै चलेनन्, अथवा हिट सिनेमाको सूचीमा परेनन् ।
‘पिताम्बर’मा स्टारहरूको ग्याङ नै थियो । ‘एक्टर’मा प्रदीप खड्का थिए । ‘राम नाम सत्य’मा ‘१२ गाउँ’जस्तो हिट सिनेमा दिएका विराज भट्ट थिए । तर, यी स्टारको केही प्रभाव देखिएन । सिनेमा हिट हुन सकेनन् ।
यी सबै चलचित्रबाट दिव्यालाई ठूलो आशा थियो । तर, आशा करिब करिब निराशामा परिणत भयो ।
‘राम नाम सत्य’मा उनलाई झनै धेरै आशा थियो । उनी आफैँले यो सिनेमामा आफ्नो फरक खालको भूमिका रहेको र यो आफ्ना लागि विशेष हुने दाबी गरेकी थिइन् । तर, दुर्भाग्य यो सिनेमा विशेष बनेन । यो सिनेमा सफल हुन नसक्दा उनका लागि खास सिनेमा बनेन ।
यी तीनवटै सिनेमा महिला चरित्रप्रधान सिनेमा थिएनन् । त्यसैले यी चलचित्रको व्यापारको भारी पनि दिव्याको काँधमा थिएन । यी सिनेमा बक्सअफिसमा हिट भइदिएको भए मात्रै पनि उनको फिल्मोग्राफीमा हिट सिनेमा हुनेथियो ।
तर, यी सिनेमाले बक्सअफिसमा राम्रो कलेक्सन गर्न नसक्दा दिव्याको फिल्मोग्राफी पनि अब कसरी अगाडि बढ्ने हो भन्ने प्रश्न उठेको छ ।
स्टार किड्सलाई सिनेमा उद्योगमा डेब्यू गर्न खासै कठिन हुँदैन । तर, टिक्न भने निकै कठिन हुन्छ । किनकी उनीहरूको कामको सिधै तुलना उनीहरूका आमाबुवासँग हुन्छ, जसले दशकौँ लगाएर आफूलाई निखारेका हुन्छन् । दशकौँको अनुभवबाट आएका कलाकारसँग नयाँ कलाकारको काम तुलना हुँदा, अफ्ठ्यारो पक्कै हुन्छ, त्यसैले मेहनत पनि त्यही अनुसारको गर्नुपर्छ ।
दिव्यालाई पनि सिनेमामा डेब्यु गर्न कठिन भएन । दिलीप रायमाझीकी छोरी भएकै कारण उनले चलचित्रमा सहजै डेब्यू गरिन् । तर, अब यो सिनेमा उद्योगमा उनी आफ्नै अभिनय कलाले उभिनुपर्छ । आफ्नै अभिनय क्षमताले अन्य नायिकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ ।
भदौ २६ गते दिव्या चलचित्र ‘बेहुली’मार्फत दर्शकमाझ आइन् । सिनेमाको नाम नै उनको क्यारेक्टरबाट रहेको थियो । यो चलचित्रको गीत पनि हिट भएको थियो । सोमबारसम्म चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार २ करोड ९६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
यो सिनेमा अहिले पनि हलमा प्रदर्शनरत छ । त्यसैले यसको लाइफटाइम कलेक्सन नै यति नै हो भनेर भन्न मिल्दैन । तर, अब यसले करोडौँ रुपैयाँ कलेक्सन थप्ने सम्भावना भने कमै छ । किनकि दुई हप्ता कटिसकेपछि सिनेमाले थप गति लिने सम्भावना कम हुन्छ ।
“सोमबारसम्मको कलेक्सनलाई हेर्दा हाम्रो चलचित्र बेहुलीले घरेलु बक्सअफिसमा ३ करोडभन्दा बढीको कारोबार गरिसकेको छ । ओभरसिज मार्केट, डिजिटल र ओटीटी राइटस्बाट २ करोडसहित ५ करोडभन्दा बढी कलेक्सन गर्न सफल भएको छ । यो साथ अनि सपोर्टको लागि भगवानरुपी दर्शकहरुलाई नमन,” बेहुलीका निर्माता अर्जुन पोखरेलले भनेका छन् । उनको यो अंकगणितले पनि अब यो सिनेमाले धेरै कमाउँदैन भन्ने निष्कर्षमा निर्माण टिम पुगिसकेको देखाउँछ ।
चलचित्र ‘बेहुली’ पनि दिव्याको सिने यात्रामा सुखद् समाचार बनेर आएन । अर्को एउटा औसत सिनेमा मात्रै बनेर आयो । त्यसैले यो चलचित्रले पनि उनको सिने यात्रालाई सरल बनाउन सकेन । त्यसैले अब दिव्याको सिने करियर सरल रेखामा हिँड्छ वा हिँड्दैन यो भने पर्ख र हेरको अवस्थामा रहेको छ ।





