‘बाः एक योद्धा’ बिहानैबाट हाउसफूल, सबै शो फिलिङ फास्टमा

काठमाडौं । प्रदर्शनको दोस्रो शनिबार चलचित्र ‘बाः एक योद्धा’ देशभर हाउसफूल भएको छ । शनिबार ७४ शो पाएको सिनेमाको दिउँसो साढे १२ बजेसम्म ५४ वटा शो हाउसफूल भएको छ ।

बाँकी शोमा पनि बुकिङ फिलिङ फास्टमा गइरहेको निर्माता वसन्त लम्सालले बताए । अग्रिम बुकिङमा नै टिकट सकिएपछि दर्शकले सिनमा हेर्न नपाउने अवस्था बनेको छ ।

दर्शकले चाहेर पनि ‘बाः एक योद्धा’ हेर्न नपाउने भएपछि हलहरूले शो थप्न थालेका छन् । “काठमाडौं, भक्तपुर, पोखरा, चितवनमा आज हलहरूले शो थपेका छन्,” निर्माता लम्सालले भने, “अग्रिम बुकिङमा टिकट सकिएपछि मध्याह्नपछि हलहरूले शो थप्न थालेका छन् ।”

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले शुक्रबारसम्म १ करोड ३० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि विस्तारै उचालिँदैछ । सिनेमाको ग्रसकलेक्सन रकम हरेक दिन उकालो लाग्ने क्रममा रहेको छ ।

चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।