‘अक्षरा’को प्रचारमा २५० बढी साइकल यात्रीको र्याली
काठमाडौं । आगामी शुक्रबार अर्थात असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को प्रचारप्रसारलाई तीव्र पारिएको छ ।
आइतबार कीर्तिपुरबाट २५० भन्दा बढी साइकल यात्रीले फिल्मको टि–सर्ट लगाएर कपनको क्लब मण्डला पुगेका छन् । फिल्मको प्रचारप्रसार स्वरुप उक्त र्याली गरिएको निर्देशक विनयराज पौडेलले बताए । उनले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मलाई पुर्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।
अभिनेत्री न्यान्सी खड्का, पुस्कर राउत, फिल्मका निर्माता तथा निर्माण पक्षको उपस्थिति रहेको थियो । युनिभर्सल सर्टिफिकेट पाएको यस फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन् ।
आफ्नो छोरीले सुख पाउछे भन्दै चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याका बारेमा फिल्मको कथा केन्द्रित छ ।
चलचित्रमा न्यान्सीका अलवा सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसीलगायतको अभिनय छ ।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन् ।





