इभा गिरीको द्रोपदी लुक्स ‘पाँच पाण्डव’को पोस्टरमा
काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदी रिभिल गरेको छ ।
‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रोपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।
पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डव छन् । पहिलो पोस्टरको रथमा बसेका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर चलचित्रका मुख्य पात्रलाई रि–कल गर्ने प्रयास गरिएको छ ।
‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर हरिवंश बनेका युधिस्टिर, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देखाइएको थियो ।
निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी रुप दर्शकले मन पराउने विश्वास व्यक्त गरे । “हामीले यो सिनेमाका इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ,” उनले भने, “जसरी उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, हाम्रो सिनेमाको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनु हुन्छ भन्ने हाम्रो विश्वास छ ।”
तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने प्रतिक्षिच चलचित्र ‘पाँच पाण्डव’को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।
हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।





