फेरि अर्को विकृति भित्रियो नेपाली सिनेमा उद्योगमा
काठमाडौैं । नेपाली सिनेमा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा मौलाउँदो क्रममा छ । सँगै रिलिज हुने चलचित्रमध्ये कसको बक्सअफिस धेरै देखाउने भनेर टिकट किन्ने त प्रचलन नै बनिसक्यो । यो ओपन सेक्रेट हो । यसरी टिकट नकिन्ने सिनेमा लगबग छैनन् भन्ने जानकारहरू दाबी गर्छन् ।
अब बक्सअफिस मात्रै होइन, कसको कन्टेन्ट कति गयो भन्नेमा पनि प्रतिस्पर्धा देखिन थालेको छ । कुन सिनेमको गीतको भ्युज युट्युबमा कति गयो, कसको टिजर र ट्रेलरको भ्युज कति हेरियो भन्नेमा पनि प्रतिस्पर्धा देखिन थालेको छ ।
भ्युज धेरै देखाउन कै लागि बुस्ट गर्ने चलन अब सामान्यजस्तै बन्न थालेको छ । किनकि कुनै गीत वा टिजर अथवा ट्रेलरले रातारात मिलियन भ्युज पाउँछ ।
तर, कुनैलाई २४ घण्टामा तीन लाख कटाउन पनि हम्मेहम्मे पर्छ । त्यसैले यो हेर्दा कसैले भनिरहनु पर्दैन, भ्युज किनेको भनेर, आफैँ पुष्टि हुन्छ ।
यसलाई चलचित्र लेखक तथा समीक्षक सामिप्य तिमलसिनाले पनि पुष्टि गरेका छन् ।
“यो गीतहरुको हत्या भइरहेको समय हो । स्वरमा रत्तिभर मिठास नभएका संगीतकार आफैँ गायक बन्नु परेर, टिकटकमा चल्ने भन्दै जथाभावी शब्द कोरेर, मिलियनका मिलियन भ्युज किनेर र जसलाई पनि नाच्नु परेर,” उनले फेसबुकमा लेखेका छन् ।
दर्जनौँ सिनेमाका लेखकले सार्वजनिक रुपमै यसो भन्नुले अब भ्युज किन्ने कुरा कसैबाट नछिपेको प्रस्ट भएको छ । यसरी भ्युज किनिएका गीत कसरी पनि थाहा हुन्छ भने बुस्ट गरुनजेल रफ्तारमा भ्युज बढ्ने तर बुस्ट गर्न छोडेपछि त्यसको भ्युज बढ्नेक्रम ठप्प जस्तै हुन्छ । बुस्ट मात्रै होइन पछिल्लो समय त भ्युजको अंक मात्रै किन्ने ट्रेन्ड पनि सुरु भएको छ ।
मिलियन मिलियन भ्युज किन्ने अनि त्यसको प्रचार गरेर आत्मरतिमा रमाउने यो गलत संस्कार हाबी हुनु सिनेमा नगरीको अर्को विकृति हो ।
बर्सेनि सयौँ चलचित्र डुबिरहेका छन्, यता निर्माता भने युट्युबको भ्युज किन्नेदेखि हलको टिकट आफैँ किन्नेसम्मको दलदलमा फसिरहेका छन् ।


