निखिलको ‘आचार्य’ बक्सअफिसमा असफल, पछिल्लो साता ५ लाख ६० हजार मात्रै कमायो

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘आचार्य’को प्रदर्शनको तेस्रो सातामा आइपुग्दा कमाइ खुम्चिएको छ । देशभरका हलमा यसको शो संख्या पनि उल्लेख्य रूपमा घटेको छ ।

चलचित्रले पछिल्लो साता करिब ५ लाख ६० हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज २५ गतेसम्मको बक्सअफिस विवरणअनुसार फिल्मले हालसम्म १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अघिल्लो साता अर्थात् असोज १८ गतेसम्म चलचित्रको कुल कमाइ १ करोड ५६ लाख ६७ हजार ५४६ रुपैयाँ थियो । यसअनुसार पछिल्लो साता चलचित्रको कमाइ ५ लाख ६० हजार ४०० रुपैयाँ थपिएको देखिन्छ ।

असोज ९ बाट प्रदर्शनमा आएको चलचित्रका हालसम्म ५६ हजार १९९ वटा टिकट बिक्री भएका छन् । एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारको अभिनय छ ।

यही चलचित्रबाट पूर्णिका सिजापतीले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । लामो समयपछि ठूलो पर्दामा फर्किएका निखिलका लागि पनि ‘आचार्य’लाई कमब्याक चलचित्रका रूपमा हेरिएको छ ।

चलचित्रको व्यापार उकासिने सम्भावना देखिँदैन । पछिल्लो साता थपिएको कमाइले दर्शकको उपस्थिति र व्यापारको अवस्था कमजोर बनेको संकेत गर्छ । प्रदर्शनको तेस्रो सातामा चलचित्रको व्यापार थप उकासिने सम्भावना न्यून देखिएको छ ।

सुरुवाती प्रदर्शनपछि शो संख्यामा भारी कटौती हुँदा चलचित्रको व्यापारमा थप दबाब परेको देखिन्छ । हलमा उपलब्ध शो घट्नु र पछिल्लो साता कमाइमा देखिएको गिरावटले ‘आचार्य’को बाँकी प्रदर्शन चुनौतीपूर्ण बनेको छ ।