१० लाखमा अड्कियो ‘अक्षरा’, दयाहाङले फड्को मारे, अरु कसको कलेक्सन कति ?
काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस विवरणअनुसार नेपाली चलचित्र ‘बाः एक योद्धा’ले ३ करोड ४५ लाख १८ हजार ७९८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’को हालसम्म १ लाख २४ हजार ३०३ वटा टिकट बिक्री भएका छन् ।
निखिल उप्रेती निर्देशित चलचित्र ‘आचार्य’ले १ करोड ६२ लाख ९१ हजार १८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसका ५६ हजार ५०७ वटा टिकट बिक्री भएको तथ्यांक छ ।
‘आचार्य’को मुख्य भूमिकामा निखिल आफैँ छन् । एक्सन सिनेमा ‘आचार्य’मार्फत उनी आठ वर्षपछि सिनेमामा फर्किएका हुन् ।
‘पेन्सन पट्टा’ले पनि बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यसले १० करोड १७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् । यसका ३ लाख ५९ हजार १९४ वटा टिकट बिक्री भएका छन् ।
लामो समयदेखि प्रदर्शनरत ‘गौँथली’ले बक्सअफिसमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । पछिल्लो विवरणअनुसार फिल्मले २६ करोड २ लाख ८७ हजार रुपैयाँ ग्रस कमाएको छ । यसका ९ लाख ४४ हजार ६८५ टिकट बिक्री भएका छन् ।
‘झिंगेदाउ २’ले १ करोड ४६ लाख ३० हजार रुपैयाँ र ‘तिमीहरूः एलिफेन्ट्स इन द फग’ले १ करोड ३१ लाख ८७ हजार रुपैयाँ ग्रस कमाएका छन् ।
चलचित्र ‘अक्षरा’ले १० लाख २९ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । २ हजार ८५० वटा टिकट बिक्री भएका छन् । सुशील सिटौला र न्यानसी खड्का मुख्य भूमिकामा छन् ।


