चलचित्र ‘कबड्डी ५ः आफ्‌टर द फाइनल म्याच’ आजबाट प्रदर्शन

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्‌टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । उच्च शो र आक्रामक बुकिङसँगै सिनेमा आजबाट प्रदर्शन आएको हो ।

नेपाली सिनेमा बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्सअफिसमा सुपहिट र ब्लकबस्टर साबित भइसकेका छन् ।

सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् आजबाट प्रदर्शनमा आएको छ ।

सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी गरेका छन् ।

सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् ।

नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।