बक्सअफिसमा आफ्नो सिनेमा नचलेको स्वीकार गर्दै दीपकले आत्मसमीक्षा भन्दै हाने झटारो

काठमाडौं । कलाकार तथा निर्माता दिपकराज गिरीले आफ्नो चलचित्र ‘छ माया छपक्कै २’को बक्सअफिसमा असफलताको जिम्मेवारी आफैँले लिएका छन् ।

तर, उनले आफ्नो चलचित्र असफल हुँदा खुसी हुनेहरुलाई भने व्यंग्य पनि गरेका छन् । अरुभन्दा अगाडि देखिने नाममा आफ्नो खुट्टामा आफैँले बञ्चरो हानिरहेको पनि ख्याल गर्न उनले सुझाएका छन् ।

सिनेमा चल्नुको अथवा हारको विश्लेषण गरेर त्यसबाट पाठ सिकेर अगाडि बढ्नु बुद्धिमानी हुने र आफू त्यही गर्ने पनि उनले बताएका छन् ।

“यसपटक एउटा कुरा चाहिँ पक्कै राम्रो भयो । यो दसैँमा धेरै चलचित्रकर्मी साथीभाइको अनुहारमा खुसीको लहर दौडिएको हुनुपर्छ । किन थाहा छ ? किनभने, हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए भनेर !,” फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, “ एउटा हात नभएको मान्छेले अर्को हात नभएको मान्छेलाई देख्दा आफू मात्रै दुःखी रहेनछु भनेर हलुका आनन्द महसुस गर्छ नि, हो त्यस्तै ! हल्का रमाइलो, जिस्केरै भने पनि मेरो कारणले साथीभाइ खुसी हुनु भनेको हामी सबैका लागि संयुक्त खुसीको कुरा हो नि, होइन र ? चियर्स !”

हेरौं उनले के लेखे जस्ताको तस्तै :–
यो पालिको दसैँ र हाम्रो चलचित्र !
हुन त सबै नतिजा आइसकेका छैनन् । यति चाँडै निष्कर्ष निकाल्नु हुँदैनथ्यो पनि भनिएला । तर, मतगणनामा चार हजार मतले पछि परिसकेपछि एउटा मतपेटिका अझै गन्न बाँकी छ भनेर आशावादी भएर बस्नुको कुनै अर्थ छैन ।

यस विषयमा लेख्नै पर्दैनथ्यो होला । तर जित्दा ढोल पिटेर नाच्ने अनि हार्दा गल्लीभित्र लुसुक्क छिरेर चुपचाप बस्नुको पनि कुनै अर्थ छैन। छाती खोलेरै हारियो भन्न सक्नुपर्छ । हारको विश्लेषण पनि गर्नुपर्छ र त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।

यसै क्रममा एक–दुईवटा रमाइला कुरा पनि गरौँ न!

यस पटक एउटा कुरा चाहिँ पक्कै राम्रो भयो । यो दसैँमा धेरै चलचित्रकर्मी साथीभाइको अनुहारमा खुसीको लहर दौडिएको हुनुपर्छ । किन थाहा छ ? किनभने, हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए भनेर !

एउटा हात नभएको मान्छेले अर्को हात नभएको मान्छेलाई देख्दा आफू मात्रै दुःखी रहेनछु भनेर हलुका आनन्द महसुस गर्छ नि, हो त्यस्तै! हल्का रमाइलो, जिस्केरै भने पनि मेरो कारणले साथीभाइ खुसी हुनु भनेको हामी सबैका लागि संयुक्त खुसीको कुरा हो नि, होइन र ? चियर्स !

अब फ्लप किन भयौँ त ? कारण खोजौँ। हिट भएपछि त कारण नै खोजिँदैन! पार्टी गर्‍यो, भोज गर्‍यो, आफूले शोले जस्तै भयंकर फिल्म बनाएको महसुस गर्‍यो, धाक लगायो, सकियो । तर फ्लप भएपछि भने सुटिङ सुरु हुनै लाग्दा हिरोइनले गरेको हाच्छ्युँ पनि सम्झनामा आउँदो रहेछ । पूजा गर्ने बेलामा नरिवल नफुटेको पनि याद आउने रहेछ । सुटिङका बेला श्रीमतीले घरबाट निस्कँदा रित्तो गाग्रो देखाएको पनि झलझली सम्झना आउने रहेछ !

अब दोष कसको त ? यहीँबाट सुरु हुन्छ दोषारोपणको सिलसिला ।

प्रोड्युसरले भन्ला, पैसा टन्न खर्च गरायो तर फिल्म राम्रो बनाएन भनेर डाइरेक्टरलाई दोष देला । डाइरेक्टरले मेरो के दोष, राइटरले जे लेखेको थियो, मैले त्यही खिचेको हुँ भन्दै राइटरतिर जिम्मेवारी पन्छाउला । अब राइटरका रूपमा भन्नुपर्दा, अन्तिम दोष त डाइरेक्टरले नै लिनुपर्छ नि ! मैले लेखेजसरी खिचेको भए पो !

डाइरेक्टरले पनि अब सोचेर भन्छ, ‘खिचेको त क्यामेराम्यानले हो । के खिच्छ, खिच्छ ! भनेको पनि मान्दैन ।’

क्यामेराम्यानले पनि बाठो हुँदै कलरिस्टतिर हेर्छ । आखिर त्यो दोष बिस्तारै घुम्दैफिर्दै अन्त्यमा आइपुग्ने मैकहाँ होला भन्ने लाग्छ । त्यसरी घुम्दै आइपुग्नुअघि नै सबैको जिम्मेवारी आफैँले स्वीकार गर्‍यो भने कुरै खत्तम होइन त ?

एकथरी चाहिँ यो फिल्म फ्लप हुनुमा बहिष्कारको प्रभाव छ भन्नेहरू पनि छन् । ‘हामीले तिम्रो फिल्म बहिष्कार गर्‍यौँ, त्यसैले फ्लप भयो ।’ ल, त्यो त धेरै राम्रै कुरा भयो नि ! फिल्म नराम्रो भएर फ्लप भयो भन्नुभन्दा बरु बहिष्कारका कारण फ्लप भयो भन्नु राम्रो होइन र ? त्यसका लागि धन्यवाद छ साथीहरू !

यसो चित्त बुझाउने बाटो त भयो। यो चित्त भन्ने चिज पनि गजबकै रहेछ !

आफू फ्लप भएको रिपोर्टले नपुगेर अरूको रिपोर्ट पनि हेर्न मन लाग्ने रहेछ । मोराहरूका फिल्मले चाहिँ कस्तो गरे त ?

यसपालि चलेका चारवटा चलचित्रको अघिल्लो शृङ्खलाको आम्दानी क्रमशः २१ करोड, १९ करोड, १२ करोड र ९ करोड रहेछ । तर यसपालिको दसैँमा तिनको कलेक्सन क्रमशः १० करोड, दुई करोड चानचुन, छ करोड चानचुन र तीन करोड चानचुन भएको रहेछ । यसरी तथ्याङ्क हेर्दा चाहिँ आफू फ्लप भएको घाउ अलिकति कम दुखेको महसुस पनि हुने रहेछ । यो पनि हल्का रमाइलो नै भयो। आखिर मानवीय स्वभाव न हो ! तर जति कुरा घुमाए पनि आफू असफल भएको तथ्य त मेटिनेवाला छैन ।

अब हल्का रमाइलोबाट अलिकति माथि उठेर भन्नुपर्दा, हारलाई मज्जाले हाँसेर स्वीकार गरेकै राम्रो हो ।

मैले व्यक्तिगत रूपमा भएका कमजोरीहरू महसुस गरिसकेको छु । तर, उद्योगका अन्य साथीभाइले पनि केही आत्मसमीक्षा नगर्ने हो भने नेपाली चलचित्रको भविष्य कमजोर हुँदै जाने निश्चित छ ।

मैले जसरी पनि जित्नुपर्छ भन्ने सोच राख्दा, आफूले खेलेको खेलकै असरले बिस्तारै आफैँलाई हार्ने वातावरण त बनिरहेको छैन ? आफू अरूभन्दा अलि अगाडि देखिनका लागि गरिएका हाम्रा गतिविधि कतै आफ्नै खुट्टामा बन्चरो साबित त भइरहेका छैनन् ।

हामी सबैले यो विषयमा सोच्नुपर्ने बेला आएको छ कि? बाँस रहे न बाँसुरी बज्ला, नत्र त । जे होस्, हामीसँगै रिलिज भएर सफल चलचित्र घोषित भएका सम्पूर्ण मित्रहरूलाई बधाई ! असफल हुनुभएका साथीहरूलाई सान्त्वना !

मेरा चलचित्रका सम्पूर्ण साथीहरूको तर्फबाट यस असफलताको जिम्मेवारी म आफैँ लिन्छु । चलचित्र छायाङ्कनदेखि अहिलेसम्म मलाई साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। हाम्रो चलचित्र हेरिदिनुहुने करिब एक लाख दर्शकलाई पनि विशेष धन्यवाद !

तपाईंहरूले दिनुभएको सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै अर्को वर्ष फेरि हलहरूमा प्रस्तुत हुने नै छु ।

जय नेपाल! जय नेपाली सिनेमा !!